धरान ; धरान ८ स्थित शहीद स्मृति माविको दक्षिण र पूर्वतर्फको कक्षा कोठा भएको कम्पाउन्ड वाल र भवन भत्काउनु पहिले वैकल्पिक कक्षा कोठाको व्यवस्था गर्ने सहमति भएको छ ।

बिहीबार दिउँसो धरान उपमहानगरपालिकामा भएको छलफलले डिजाइन र नक्सा तयार गरेर कम्पाउन्ड वाल र ब्लग पनि भत्काएर वैकल्पिक व्यवस्था गर्ने भन्ने सहमति भएको छ ।

गत कार्तिक २५ गतेको लिखित सहमतिमा ३ वटा बाल कक्षाकोठा भत्किने भएकोले पहिला स्थानान्तरणको लागि वैकल्पिक व्यवस्था गर्ने भन्ने सहमति भएको हो । सोही सहमति अनुसार वैकल्पिक कक्षा कोठा निर्माणको लागि उपभोक्ता समितिले ५ लाख र उपमहानगरपालिकाले ५ लाख गरी १० लाख रुपैयाँ खर्च गर्ने सहमति भएको थियो ।

पूर्वतर्फको ३ वटा कक्षा कोठा भत्काउने, नक्सा डिजाइन तथा लागत स्टिमेट भएर सम्झौता भइसकेपछि मात्र बाटो तथा ड्रेनको काम सुरु हुने निर्णय भएको छलफलमा सहभागी नेकपाका धरान नगर इन्चार्ज चोत्लुङले जानकारी दिएका छन् । भत्काउन र वाल बनाउनको लागि लाग्ने खर्च उपमहानगरले नै व्यहोर्ने सहमति पनि भएको छ ।

उपमहानगरको ५ लाख र उपभोक्ताले दिएको ५ लाख गरी १० लाखले तत्काल वैकल्पिक कक्षा कोठा बनाइने पनि चोत्लुङले जानकारी दिए । गएको कार्तिक २५ गते कार्यवाहक मेयर भण्डारीले स्थानीयसँग बैठक बसेर कम्पाउन्ड वाल र भवन भत्काउन सहमति गरेकी थिइन् । तर सो काम अहिले सम्म नभएको भन्दै आज स्थानियले कम्पाउन्ड वाल भत्काएका थिए । धरान उपमहानगरपालिकामा भएको बैठकमा मेयर, उपमेर सहित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समितिका पदाधिकारीहरू र नेकपाका नारायण सुबेदी, चोल्लुङ लगायतको पनि उपस्थिति रहेको थियो ।