विराटनगर : प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण हुने भएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रवार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड-१९ को परीक्षण कार्ययोजना स्वीकृत समेत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरू र प्रदेश भित्र कोभिड-१९ संक्रमित पहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक एक हजारका दरले पिसिआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

स्वीकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरूको वर्गीकरण समेत गरेको छ । उच्च जोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा वर्गीकरण गरिएको छ । उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसङ्ख्याको ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो । हाल प्रदेश १ मा चार हजार एक सय बढीको पिसिआर परीक्षण भइसकेको छ ।

कोभिड-१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरूको समेत वृद्धि गरिने भएको छ । यसका लागि कोसी कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहश्रेत्रमा २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड थपिने भएको छ ।

यसैबिच प्रदेश मा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको व्यवस्थापन गर्ने संयुक्त कार्ययोजना समेत स्वीकृत गरिएको छ । स्वीकृत कार्ययोजना अनुसार इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा होल्डिङ्ग एरिया पहिचान गरी निर्माण समेत थालिएको छ । होल्डिङ्ग एरियामा १५ हजार बेड सङ्ख्या बन्ने भएको छ । इलाममा २ हजार, झापामा ४ हजार, मोरङमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेड तयार हुन थालेका छन् । यति बेला यी जिल्लाका १० ठाउँमा ११ सय ३ वटा बेड बनिसकेका छन् ।