इटहरी : नेपाल सरकारले अनलाइन प्रविधिबाट उपलब्ध गराएको ‘इ-पास’ प्रहरीले नबुझ्दा कृषि फर्ममा उत्पादित तरकारी बजार सम्म पुग्न पाएको छैन ।

सुनसरीको बर्जु गाउँपालिका ४ को अरिहन्त एग्रो फार्ममा उत्पादित हजारौँ टन तरकारी बजारसम्म पुग्न नपाउँदा कुहिँदै गएको छ । फार्मका इन्चार्ज रघुनन्दन मेहताका अनुसार इपासको बारेमा जानकारी गराउँदा समेत प्रहरीले तरकारी निर्यात गर्न नदिएको कारण तरकारी फार्ममै कुहीन थालेको हो ।

‘इ–पास’ लिएर विराटनगर बजार लैजाँदै गर्दा सुनसरीको केसलीया खोलाको पुलमा चेकिङमा बसेका प्रहरीले अङ्ग्रेजी नबुझ्ने भन्दै गाडी नै फर्काइदिएको उनको भनाई छ ।

आफूहरूले बारम्बार प्रहरीलाई इपासको बारेमा जानकारी गराए पनि आफू मोबाइल चलाउन र अङ्ग्रेजी पढ्न नजान्ने भन्दै कुरै नसुनेको इन्चार्ज मेहताले बताए । ७० बिघा भन्दा बढी जग्गामा फैलिएको फार्ममा विभिन्न जातका तरकारी उत्पादन हुने गर्छन् ।

हाल १२ कट्ठाको टनेलमा उत्पादन भएका क्याम्सीकम र टमाटरले बजार पाउन नसकेको हो । केही दिन अगाडी २० क्विन्टल टमाटर र क्याम्सीकम खाल्डामा पुरेको मेहताको भनाई छ । अहिले पनि ५० क्विन्टल भन्दा धेरै उत्पादित सामग्री कुहिएर गएको उनी सुनाउँछन् । स्थानीय स्तरमा बजार नहुने र बाहिरको बजार पुर्‍याउन पास लगाएर प्रशासनिक झन्झटको कारण समस्या सृजना भएको छ ।

अरीहन्त फर्मको ७० बिघा मध्ये ४५ बिघामा उखु, १० बिघामा कागती लगायत अन्य जग्गामा अमला, अम्बा, धान, गहुँ जुट लगायत अन्न बाली लगाइएको मेहताले जानकारी दिए । हाल ८ जनाले नियमित काम गर्ने सो फर्ममा सिजनको समयमा सय जना भन्दा बढीले रोजगारी पाउने उनी सुनाउँछन् ।

यस्तो प्रतिकूल अवस्थामा सरकारले बजारको व्यवस्थापन गरी दिनुपर्ने उनी बताउँछन् । युवाहरूको कृषिप्रतिको आकर्षण बढाउन कतिपय प्रशासनिक झन्झटले बाधा गरेको उनको बुझाई छ । पढेलेखेका युवाहरू व्यवसायीक कृषि तर्फ आकर्षित गराउने यो नै उत्तम समय भएको उनले सुझाए ।

प्रहरी भन्छ : कुनै समस्या छैन

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख कमल थापा सुनसरी प्रशासनबाट त्यस्तो कुनै पनि समस्या नभएको बताउँछन् ।

केही समय अगाडी सम्म मोरङ प्रशासनले विराटनगर तिर समान ढुवानी गर्न नदिएको विषयमा आफूले चासो राखेको उनले बताए । यदि अत्यावश्यक बस्तुको ढुवानीमा कसैले रोक्न खोजे आफूलाई सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।

उता मोरङ प्रहरी प्रमुख विश्व अधिकारीका अनुसार अत्यावश्यक बस्तुको ढुवानीमा कुनै रोकावट छैन । पछिल्लो समय भित्री गाउँबाट सब्जी लगायत अत्यावश्यक सामग्री ल्याउन पास नचाहिने गरी व्यवस्था मिलाइएको उनको भनाई छ ।