धरान : धरानको खानेपानी आयोजनामा भएको खर्चको यथार्थ विवरण सार्वजनिक गर्नु पर्ने माग गर्दै दीर्घकालीन खानेपानी संयुक्त सङ्घर्ष समितिले धरान उपमहानगरपालिका आज घेराउ गरेको छ ।

उपमहानगरपालिकाको प्रवेशद्वार अगाडी भेला भएका समितिका पदाधिकारीहरूले धरानको खानेपानी आयोजनाको विरुद्धमा नारावाजी गरेका थिए ।

एडिबीबाट ल्याएको ऋण २ अर्व १६ करोड ४ लाख रुपैयाँ, नेपाल सरकारको अनुदान ५१ करोड ८५ लाख, ३२ करोड ४० लाख धरान उपमहानगरपालिकाको सहभागिता गरेर जम्मा ३ अर्व २९ लाख रुपैयाँ लागतमा सञ्चालित आईयुडिपी परियोजना कुन-कुन शीर्षकमा कति-कति खर्च भयो यसबारेमा सार्वजनिक हुनुपर्ने, धरान उपमहानगरपालिका र उपभोक्ता बिच २०७१ कार्तिक २२ गते भएको ११ बुँदे सहमतिको बुँदा नं. ९ अनुसार आइयुडिपी खानेपानी परियोजनाले भूमिगत स्रोतबाट दैनिक १ करोड ५२ लाख २० हजार लिटर खानेपानी उत्पादन गर्नुपर्नेमा परिक्षणकालमै लक्ष्य अनुसार उत्पादन पानी नभएको, पानी उत्पादन नभएपछि खानेपानीको ट्याङ्करबाट खानेपानी वितरण गर्नुपरेको र खानेपानीको दुई वटा वेल खनिएको र एक हप्ता नपुग्दै भासिएको बारे पनि सार्वजनिक हुनुपर्ने सो घेराउमा माग गरिएको थियो ।

नगरपालिका अघि विभिन्न माग सहित नाराबाजी भइरहेको बेलामा धरान उपमहानगरपालिकाका मेयर तिलक राई कार्यकक्षबाट बाहिर निस्किएर मागको बारेमा आफ्नो भनाई राखेका थिए । मेयर राईले दीर्घकालीन खानेपानी व्यवस्थापन सङ्घर्ष समितिको माग अनुसार धरान उपमहानगरपालिका यसबारेमा एक विज्ञ टोलीहरूको समिति गठन गरेर मागको सम्बोधन गर्ने बताए ।

घेराउ कार्यक्रममा एक जनाको दुई वटा विल खानेपानी संस्थान र खानेपानी व्यवस्थापन बोर्डले अलग अलग विलमा संस्थानको विलमा ६८५ र खानेपानी व्यवस्थापन बोर्डले १६०० विल काटेको बारेमा मेयर राईले यसबारेमा अनुसन्धान गरेर कारबाही गर्ने बताएका थिए । समितिले मेयरलाई ज्ञापन पत्र पनि बुझाएको थियो ।

Nagarpalika-GHerau-1