इटहरी : लकडाउनको उल्लङ्घन गरेको भन्दै इटहरी प्रहरीले सफारी चालकलाई नियन्त्रणमा लिन थालेको छ । कोरोना महामारी फैलिन सक्ने भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

गत बुधवार इटहरी १९ का कमल तामाङ सिटी सफारी सहित प्रहरी नियन्त्रणमा परे । परिवार धान्नै गाह्रो भएपछि सडकमा निस्किएको बताउने उनी प्रहरी कार्यालयमै सफारी छाडेर घर फर्किए । भोलिपल्ट अर्थात् बिहीबार साँझ ५ बजे प्रहरी कार्यालय इटहरीमा कक्षा लिएर सफारी फिर्ता लगे ।

कोरोना संक्रमण फैलिन सक्ने भन्दै सफारी नचलाउन प्रहरीले निर्देशन दिएको उनले सुनाए । निराश मुद्रामा देखिएका उनले बैङ्कको किस्ता तिर्नै समस्या परेको र पेट पाल्न समेत मुस्किल हुन थालेको बताए । पहिला सहकारीमा जम्मा गरेको केही रकम पनि सकिएकोले अब नकमाई कुनै विकल्पै नरहेको उनको भनाई छ ।

‘घरमा चामल सकिसक्यो । स्कुलले छोराको फिस माग्ला जस्तो छ । कमाउन निस्कियो प्रहरीले दिँदैन ।,’ निराश मुद्रामा उनी भन्छन्, ‘कसो गर्नु हौ, जता पनि तनाव मात्र छ ।’

itahari-safari-ashad-18

उनी सँगै भेटिएका नरेश श्रेष्ठ पनि सफारी निकाली रहेका छन् । उनको पनि परिवार पाल्नै समस्या हुन थालेको छ । रहरले भन्दा पनि अभावले सडकमा निस्किएका उनी प्रहरीको कक्षा लिएर फर्किएका हुन् ।

लकडाउनको ज्ञान त पाए तर घरमा लैजाने चामल पाएनन् । ५ जनाको परिवार पाल्न मुस्किल पर्दै गएकोले सफारी चलाउन थालेको उनले सुनाए ।

तामाङ र श्रेष्ठ जस्ता हजारौँ मजदुरहरूको समान समस्या छ । विशेष गरी यातायात तथा सैलुनमा काम गर्ने मजदुरको पिडा उस्तै छ ।

कोरोना संक्रमण फैलिन नदिन भन्दै प्रहरीले सैलुनका कर्मचारी र सफारी चालकलाई नियन्त्रणमा लिन थालेको छ । घरमा खानेकुरा सकिँदै गएपछि काम सुरु गर्न थालेको बताउने उनीहरू प्रहरी समक्ष निरीह देखिन्छन् ।

उता प्रहरीले भने माथिको निर्देशन पालना गरेको बताउँदै आएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार कुनै सुरक्षाका उपाय नअपनाई सफारी चलाउने गरेकोले पक्राउ गरिएको हो ।

भौतिक दुरी देखी मास्क र स्यानिटाइजरको प्रयोगमा ध्यान दिन नसक्ने भएकोले कोरोना संक्रमण फैलिने भन्दै चलाउन नपाइने उनले बताए ।