धरान : आन्तरीक शान्ति सुरक्षालाई प्रभाबकारी बनाउन प्रदेश सरकारले १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई १७० थान मोटरसाईकल र १० थान स्कुटर प्रदान गरेको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गरी आन्तरीक मामिला तथा कानून मन्त्री माननीय हिक्मत कुमार कार्कीले १ नम्बर प्रदेश प्रहरी प्रमुख ईश्वर बाबु कार्कीलाई मोटरसाईकल तथा स्कुटरको चाँवी हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा मन्तब्य राख्दै मन्त्री कार्कीले बिभिन्न अपराध कार्यमा संग्लग्न ब्यक्तिहरुले अपराधका नयाँ नयाँ शैली अपनाई रहेको अवस्थामा आन्तरिक शान्ति सुरक्षाको सहजताको लागि प्रदेश सरकारले सहयोग गरेको बताए । 

नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउन हरेक युनिटमा सवारी साधन पुर्‍याउने र आन्तरिक शान्ति सुरक्षालाई थप सुदृढ बनाई आम नागरीकलाई सुरक्षाको प्रत्याभुति दिलाउने प्रदेश सरकारको दुरगामी निती रहेको हुँदा सवारी साधन उपलब्ध गराईएको उनले बताएका हुन् ।

मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरुलाई उपलब्ध गराउने गरी टि.भी.एस कम्पनीको १६० सि.सी.को अपाचे मोटरसाईकल ९० थान, बजाज कम्पनीको १५० सि.सि.को पल्सर मोटरसाईकल ८० थान र यमाहा कम्पनीको १२५ सि.सी.को यमाहा स्कुटर १० थान गरी कुल १८० थान सवारी साधन उपलब्ध गराएको हो ।

यसैगरी ट्राफिक ब्यबस्थापनमा सहजताका लागी मन्त्रालयले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीलाई समेत १० थान मोटरसाईकल हस्तान्तरण गरेको थियो ।

सवारी साधनको चावी ग्रहण गर्दै १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले प्रदेश सरकारलाई हार्दिक धन्यवाद दिएका थिए ।