धरान : धरान उपमहानगरपालिकाले घर बाहिर निस्किदा मास्क नलगाउनेलाई जरिवाना गर्ने भएको छ ।

पछिल्लो समय लकडाउन खुकुलो भएसङै धरानमा सर्वसाधारणको चहलपहल बढेको र कोरोनाको जोखिम पनि उत्तिकै बढेकोले मास्क अनिवार्य गर्नका लागि धरान उपमहानगरपालिकाले विशेष अभियान स्वरूप जरिवाना गर्ने भएको हो ।

कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण दिन प्रति दिन वृद्धि भई रहेको र अझै पनि कोभिड १९ को जोखिम उच्च नै रहेको ले सकेसम्म भिडभाड भएको स्थानमा नजान धरान उपमहानगरपालिकाले अनुरोध गरेको छ । यसै गरी अति आवश्यक काम परेमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, साबुन पानीले वेला वेलामा हात धुने र आवश्यक सरसफाइमा ध्यान दिन पनि अनुरोध गरिएको छ । यसै गरी मास्क नलगाई घर बाहिर निस्केमा जरिवाना समेत गर्न सकिने धरान उपमहानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

धरानमा पछिल्लो समय घर बाहिर निस्किने र बजार तथा सार्वजनिक स्थलहरूमा भिडभाड बढेकोले यस्तो सूचना जारी गर्नुपरेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए ।

पछिल्लो समय दैनिक ५ सयको हाराहारीमा कोरोना सङ्क्रमित बढिरहेकोले धरान उपमहानगरपालिकाले धरान नगरवासीलाई कोरोना सम्बन्धी सजग र सुसूचित गर्न यस्तो सूचना जारी गरेको बताइएको छ ।

घर बाहिर निस्किदा अनिवार्यरुपमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनुपर्ने र यदि मास्क नलगाएको पाइएमा जरिवाना गर्ने गरी धरान उपमहानगरपालिकाले निर्णय गरेको मेयर राईले बताए ।