पथरी : बेलबारी नगरपालिकाले नौमती बाजा संरक्षण गर्न पहल थालेको छ । बेलबारी नगरपालिकाले नौमती बाजा खरिद गरेर परिवार सेवा समाज बेलबारीलाई हस्तान्तरण गरेको छ ।

सोमवार नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले परिवार सेवा समाज बेलबारीलाई नौमती बाजा तथा कपडा हस्तान्तरण गरेका हुन् । बाजा सञ्चालनका माध्यमबाट रोजगारीको सृजना गर्ने, युवा पुस्तालाई नौमती बाजामा रुचीको विकास गर्न बाजा खरिद गरिएको नगरप्रमुख सुवेदीले जानकारी दिए ।

नौमती बाजाको संरक्षणबाट नगरमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने नगर प्रमुख सुवेदीले बताए । विवाह,उत्सव जस्ता शुभ कार्यमा नौमती बाजा बजाउने गरिन्छ ।

नगरपालिकाले दुई वटा नरसिंह, दुई वटा सनई, दुईवटा दमाहा, एउटा ढलकी, एउटा ट्याम्को र एउटा झ्याली वितरण गरेको हो भने नौमती बजाउनेहरूलाई एक एक थान कपडा वितरण गरिएको थियो ।