धरान : चलन चल्तीको भाषामा मुङ्ग्री भनिएको मागुर माछा नेपालमा बाहिरबाट आयात गरेर विक्रि गर्न प्रतिबन्ध रहेको खुलेको छ ।

सुनसरी प्रहरीले भाण्टाबारी नाकाबाट ठुलो परिमाणमा मुङ्ग्री माछा पक्राउ गरेर नष्ट गरे संगै यो कुरा पनि खुलेको हो ।  विराटनगर भन्सारको सेटिंगमा आएको माछा भाण्टाबारीबाट सुनसरी प्रहरीले नियन्त्रणमा लिएको थियो । भन्सार कार्यालयबाट प्रज्ञापन पत्र र पशु क्वारेनटाइन विराटनगरबाट खानयोग्य माछाको प्रमाणपत्र सेटिङमा दिएको बुझिएको छ । भारतबाट ल्याएको उक्त माछा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बरामद गरी खाडल खनी नष्ट गरिदिएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गरी भारतको कलकत्ताबाट रानी नाका विराटनगर हुँदै नेपाल भित्रिएको प्रतिबन्धित माछा पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको रोहवरमा खाडल खनी नष्ट गरिदिएको हो । ५ हजार ८ सय २० के.जी माछा करिब १५ लाख बजार मूल्य बराबरको उल्लेख गरिएको सो माछा सुनसरी प्रहरी कार्यालय परिसरको जमिनमा खाल्डो खनी पुरिएको छ ।

भारतमा उत्पादित तर नेपालमा प्रतिबन्धित गरिएको माछा ल्याइएको पाएपछि सुनसरी प्रहरीले WB 25 j 6141 नंम्बरको ट्रक र ट्रक चालक भारत पश्चिम बङ्गाल स्वरूप नगर बस्ने २४ वर्षीय इमामुल गोल्दारलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी सेतु बन्धु भन्सार कार्यालय कोसी ब्यारेजमा बुझाइएको सुनसरी प्रहरीले जनाएको छ ।

कोलकोत्ताले विक्रीका लागि पठाएको क्याट फिस नामक माछा नियन्त्रणमा लिएको माछा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकूल असर गर्ने भएका कारण नियन्त्रणमा लिएर नष्ट गरिएको सुनसरीका प्रहरी प्रमुख कमल थापाले जानकारी दिए ।

भन्सार प्रज्ञापन पत्र, क्वारेनटाइन प्रमाणपत्र, विराटनगर महानगरपालिकाको सेवा शुल्क रसिद, राजश्व अनुसन्धानको अनलाइन विल राष्ट्रिय वाणिज्य बैकमा नगद जम्मा गरिएको बिल सहित प्रतिवन्धीत माछा सुनसरी प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरे पनि यस अघि पनि सोही प्रकृतिले प्रतिबन्धित माछा नेपाल भित्रिएर विक्री वितरण हुँदै आएको प्रतिबन्धित माछाको बजार र भन्सारको सेटिंग निकै ठुलो रहेको थापाको भनाइ छ ।

माछा कसलाई पठाएको भनी नखुले पनि भारतबाट भने मोरङ विराटनगरको एस.जी.आइ.एग्रो प्रा.लि.ले झिकाएको देखिएको छ । आवश्यक सबै कागजात सोही प्रा.लि.का नाममा रहेको पाइएको छ । नेपाली सरकारी निकायहरु रानी भन्सार सहित आवश्यक बिल र इजाजत सहित आएको माछा सहितको ट्रक शङ्का लागि चेक जाँचको क्रममा प्रतिबन्धित रहेको फेला परेपछि नष्ट गरिएको हो ।

बजारमा बिक्री वितरणका लागि उपलब्ध मुङ्ग्री माछा पनि यसरी नै भारतबाट ल्याइएको बताइएको छ । जिउँदो र ताजा माछा मुङ्ग्री भनेर उपभत्ताले खरिद गर्दै आएको भए पनि यो माछा स्वास्थ्यको हिसाबले हानिकारक हुने बताइएको छ ।