हुन त धेरै मान्छेहरूलाई लाग्दो हो, ‘यो केही नजान्ने कुलुङे ढाक्रेलाई राई यायोक्खाप्रति किन त्यत्रो रिस ? यसको रहस्य के छ ?’ तर, खास कुरो त्यस्तो होइन, न त जसले ‘राई जात होइन भन्दै छ, उसको नागरिकता र तीन पुस्तेमा मात्रै होइन, जग्गा-धनी प्रमाणपूर्जा, स्कुल पढेको सर्टिफिकेट, ड्राइभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र आदिमा समेत राई ! छ भन्दै हिँड्ने राई सर र राईनी म्याडमहरूप्रति मेरो व्यक्तिगत चिनजान नै छ, न त उनीहरूप्रति मेरो अतिशय दुराशय (नकारात्मक दृष्टिकोण/सोच) नै छ ।

तापनि कथित राई ! जातिको नाममा खुलेको राई ! यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद् दर्ता नम्बर-२६५६ र काठमाडौँ जिल्ला प्रशासन कार्यालय रजिस्टर्ड/काजिप्रका दर्ता नम्बर-३२८/०४९/०५०) का हर्ताकर्ता बनेका राई सर/राईनी म्याडमहरूले आफ्ना (कथित राई ! का लागि) लागि राज्य, सङ्घ वा प्रदेश माग्दा ‘राई ! राज्य’, ‘राई ! सङ्घ’ वा ‘राई ! प्रदेश’ नमागेर किन किरात प्रदेश माग्छन् ? भन्ने हो ।

स्मरण रहोस्, सुनिएअनुसार ‘यायोक्खा’ कुनै माईकालाल राई ! को भाषा नभएर बान्तवा जातिको भाषा हो । तर, ‘यायोक्खा’को शाब्दिक अर्थ भने यो पङ्क्तिकारलाई थाहा भएन । यसरी हेर्दा इतिहासमा उनीहरू जो, राई के-कति कारणले जातै हो ? भन्ने कुनै विश्वासिलो र भर पर्दो तथ्य, प्रमाण र आधार नदिई एकोहोरो सुगा रटाई मात्रै गर्दै राई जातै हो ! भन्नेहरू) नराम्रोसँग कलङ्कित हुने छन् ।

त्यस्तै हाम्रा भावी पुस्ता (नाति, पनाति, खनाति, जनाति, ...) ले पनि राई जातिवाला राई सर/राईनी म्याडमहरूलाई नराम्रोसँग सराप्ने छन् ।

नेपालमा विसं २०६२/०६३ को राजनैतिक परिवर्तनसँगै यहाँका विभिन्न जातजातिहरूले आ-आफ्नो जातजाति, भासाभासी, ऐतिहासिक भूमि अर्थात् भूगोलको आधार वा नाममा सङ्घीय राज्य वा प्रदेशहरू स्थापना हुनुपर्ने भनी वकालत गरेका थिए, माग राखेका थिए । जुन स्वाभाविक पनि थियो । तर, त्यस क्रममा कथित राई ! जातिको नाममा खुलेको यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद् दर्ता नम्बर-२६५६ र काठमाडौँ जिल्ला प्रशासन कार्यालय रजिस्टर्ड/का.जि.प्र.का. दर्ता नम्बर-३२८/०४९/०५०) का हर्ताकर्ताहरूले आफ्ना (कथित राई ! का लागि) लागि राज्य, सङ्घ वा प्रदेश माग्दा ‘राई ! राज्य’, ‘राई ! सङ्घ’ वा ‘राई ! प्रदेश’ नमागेर किन किरात प्रदेश मागे/माग्दैछन् ? भन्ने फेरि पनि मेरो लिँडे-ढिपी हो !

स्मरणीय छ, राई सर राईनी म्याडमहरूले राज्य माग्ने क्रममा पहिले पूर्वका १७ वटा जिल्ला मागेका थिए भने हाल १४ वटा जिल्ला समेटेर राज्य दिनुपर्ने माग राखेका थिए वा भनौँ अझै पनि १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्नुपर्ने माग राख्दैछन् । तर, अचम्म के भने,जसरी लिम्बु एउटा जाति भएकोले लिम्बुवान राज्य माग्दैछ । त्यस्तै थारु एउटा जाति भएकोले थारुहरूले थारुवान् राज्य माग्दै छन् । उता मगर पनि नेपालको एक जाति भएकोले मगरात राज्य माग्दैछ । तर, राई जाति हौँ भन्ने राई सर राईनी म्याडमहरू भने राई सङ्घीय राज्य !, राई प्रदेश ! वा राई स्वायत्त प्रदेश ! नमागेर किन किरात राज्य वा प्रदेश माग्दै हिँडिरहेका छन् ? ८ औँ आश्चर्य यहाँनेर छ ।

यदि राई जाति हो भने त राई राज्य वा राई प्रदेश पो माग्नुपर्ने होइन र ? यस बारेमा नामको अगाडि बुद्धिजीवी, विश्लेषक, प्रा.डा. लेखक जोडिएका महानुभावहरूले एक पटक राई यायोक्खा नामक एनजिओ र तिनका हर्ताकर्ताहरूलाई सोधे हुन्थ्यो !

हुन त साँचो अर्थमा भन्नु पर्दा विश्वभरिकै आई एनजिओ/एनजिओहरूले राज्य मागेको र, त्यस्ता आई एनजिओ/एनजिओहरूले राज्य पाएको इतिहासमा कहीँ पनि छैन । बरु सम्बन्धित देशमा सरकार चलाएको (कुनैकनै देशको सरकारलाई आफू अनुकूल चलाएको) देखिन्छ । तर, कहीँ नभएको जात्रा हाँडी गाऊँ (नेपाल) मा हुने देश भएकोले होला, नेपालमा एनजिओले पनि वकाइँदा साथ राज्य मागेको देखिन्छ ।

यसरी हेर्दा राई जातिको नाममा खुलेको राई यायोेक्खा नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरूले अहिलेको एक नम्बर प्रदेशलाई किरात प्रदेश नाम राख्नुपर्ने माग बेलाबेलामा राख्ने गरेका छन् ।

स्मरणीय कुरो के छ भने, राई भनेको नेपालको कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शाह राजा एवम् श्री ३ महाराज (राणा) हरुले त्यसबेलासम्म एकै रहेको किरातीहरुको भूमिलाई समेत फुटाएर स्थानीय स्तरमा तिरो-भरो उठाउन र पञ्च खत बाहेकको मुद्दा मामिला मिलाउने अधिकार र ठेकी बेठीसहित दिइएको पदवी वा पगरी मात्रै हो ।

राई शब्दको सुरु वा व्युत्पत्ति भनेको ‘राय’ हो । कर्णाली प्रदेशमा त्यो बेला राजालाई ‘राय’ भनिन्थ्यो । हुन त नेपालको भौगोलिक एकीकरणपछि राई मात्रै नभएर, सुब्बा, मुखिया, देवान, पटवारी, चौधराई आदि पदहरूको पनि सृजना गरिएको थियो । अहिले आएर कसैले त्यही सामन्तीहरूलाई जनाउने ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘पटवारी’, ‘चौधराई’ शब्दलाई नै जात वा जाति मान्छन् भने त्यसमा हाम्रो आपत्ति छैन ।

तर, उनीरुले पनि हामीलाई आफ्नो असली जातीय स्वपहिचान कुलुङ, मेवाहाङ भनी अलग्गै जातिका रूपमा चिनिन दिउन् भन्ने हो । उनीहरूले राई ! भनेको जात वा जाति नभएर नेपाल एकीकरणपछि शाह र राणाहरूले त्यस बेलासम्म एकै रहेका किरातीहरुलाई फुटाएर स्थानीय स्तरमा तिरो-भरो उठाउन र, पञ्च खत बाहेकको मुद्दा मामिला स्थानीय स्तरमै मिलाउन दिएको पदवी वा पगरी मात्रै भए तापनि अब हामी त्यही राई ! पदवी वा पगरीलाई नै जाति मान्छौँ भनेर सार्वजनिक रूपमा पत्रकार सम्मेलन गरेर प्रस्ट पारे अझ राम्रो हुन्थ्यो ।

साथै कुलुङलगायत अन्य किराँतीहरुलाई सामन्तवादको प्रतीक वा अवशेष राई ! शब्दलाई नै जात वा जाति मान भनेर दबाब दिँदैनौँ भनेदेखि ‘सुनमा सुगन्ध’ हुन्थ्यो । कुलुङ लगायत अन्य १२ किराँती जातिहरूको स्पष्ट तथ्याङ्क विसं २०६८ को जनगणनामा आई सकेको पनि छ । जातीय स्वपहिचानको सवालमा स्थिति कस्तो सम्म आयो भने, विसं २०५८ सालमा पूर्व राजा ज्ञानेन्द्रले लालमोहर लगाएको आदिवासी जनजाति उत्थान प्रतिष्ठान (आजउराप्र) ऐन अन्तर्गत नै राई जातिमा सूचीकृत भएर राई जातिको नाममा राईंदाईं गर्ने राई योयाक्खाका (स्मरण रहोस्, यायोक्खा शब्द कुनै माइकालाल राई ! को भाषा नभएर बान्तवा जातिको भाषा हो) हर्ताकर्ता राई सर राईनी म्याडमहरू राजा ज्ञानेन्द्रले कार्यकारी अधिकारसहित आफै शासन सत्ता हातमा लिएपछि प्रतिष्ठानबाट हटेनन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनको परिच्छेद ३ दफा ७ मा सञ्चालक परिषद् गठन शीर्षकमा भनिएको छ -‘प्रतिष्ठानका तर्फबाट सम्पादन गर्नुपर्ने कार्य सम्पादन गर्नका लागि प्रतिष्ठानको सर्वोच्च अङ्गको रूपमा देहाय बमोजिमको एक सञ्चालक परिषद् रहनेछ । १. प्रधानमन्त्री अध्यक्ष, २. स्थानीय विकास मन्त्री वा राज्यमन्त्री सहअध्क्षय ...... ।’ ३. .... । ४. ...... यस्तो व्यवस्थाअनुसार त्यो बेला स्वतः तत्कालीन राजा ज्ञानेन्द्र पनि प्रधानमन्त्री जस्तै प्रतिष्ठानका अध्यक्ष भएका थिए । तर, राई यायोक्खाका हर्ताकर्ताहरूले ज्ञानेन्द्र सरकार प्रमुख भएको बेला प्रतिष्ठानमा दिएको निवेदनलाई आधार मानेर ‘कुलुङे ढाक्रेहरू दरबारमा जात माग्न गयो !’ भनी हौवा फिँजाए । राई जात वा जाति होइन भन्ने कुरो त २०२१ सालमा आएको भूमिसुधार ऐन पूर्ण रूपमा लागू हुनु अघिसम्म तालुकदार वा लालमोहरवाला असली राई बाहेकका रैतीहरूलाई आफ्नो नामको पछाडि राई ! लेख्न नदिने गरेको इतिहासले नै बताउँछ । राई भनेको जात होइन भन्ने त सङ्खुवासभाका वनेम थरका लिम्बुहरूले विसं १८३१ मा राई पद पाएको आधारमा नामको पछाडि राई लेख्दै आएको तर, उनीहरू असलीयतमा लिम्बु भएको थाहा भएपछि राई पद त्यागेर विसं २०६६ मा पुनः लिम्बु जाति नै भएको उदाहरणले पनि देखाउँछ ।

सो समाचार विभिन्न पत्रपत्रिका, रेडियो, टिभी आदिमा पनि आएको थियो ।  संघिय सरकारको मन्त्री समेत भएका मोहम्मद इस्तियाक राई पनि राई छन् । उनी नाम सुन्दै मुसलमान होइनन् र ?

यदि राई जात वा जाति नै हो भने ती मुसलमान कसरी राई भए ? अर्को महत्वपूर्ण प्रश्न के छ भने, राईको ऐतिहासिक भूमि कहाँ हो ?, राईको वंश को हो ?, राईको मातृभाषा कुन हो ?, राईको मौलिक भेसभुसा के हो ?, राईको मौलिक चाडबाड कुन हो/कस्तो हुन्छ ? देखाउन सक्नु पर्छ ।

राईको भन्दै बान्तवा भाषामा यायोक्खा नाम र चाम्लिङ जातिको नाच साकेला कहिलेसम्म देखाउने ? फेरि विगतमा राई भएर तिरोभरो उठाएका वा राई पगरी वा पदवी पाएका बस्नेत राई, कार्की राई, पाण्डे राई, कोइराला राई, माझी राई, मगर राई आदि राईहरूले पनि अगाडि ‘किरात बस्नेत क्षेत्री राई सङ्घ’, ‘किरात कोइराला बाहुन राई सङ्घ’ ‘किरात मगर राई सङ्घ’, ‘किरात कार्की क्षेत्री राई सङ्घ’ किरात माझी राई सङ्घ आदि सङ्घ खोलेर राई यायोक्खा नामक एनजिओमा कथित राई जातिको सदस्यता वा सम्बद्धता माग्न आएमा उक्त एनजिओले उनीहरूलाई पनि कथित राई जातिको जातीय सम्बद्धता दिन्छ ?

जसरी दनुवारलाई ‘देवास राई’ भनेर फुटाएर कथित राई जातिको सम्बद्धता दिएको छ । स्मरण रहोस्, काठमाण्डौमा कार्यरत दुई जना (राजन डोने र ज्योती दनुवार) दनुवारहरूका अनुसार ‘देवास’ भनेको दनुवारहरूको कूल देवताको नाम हो ।

फोन :  ९८४९९८५९९७, ९८६२४३६०४९ , Email : ninamkirat123@gmail.com