धरान : धरान–१३ फुस्रे सिस्टममा आउने सर्दु र खर्दुको मुहानमा बन्दै गरेको इन्टेकमा बिछ्याइएको पाइपलाइन तोडफोड गरेको आरोपमा पक्राउ परेका हर्क साम्पाङ राईलाई पाँच दिन म्याद थप गरिएको छ ।
जिल्ला अदालत सुनसरी बाट सार्वजनिक सम्पत्ति हानी नोक्सानीको मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
धरान उपमहानगरपालिका खानेपानी व्यवस्थापन बोर्डले मङ्गलवार बेलुका हर्क साम्पाङ र खानेपानी संस्थानका रामकुमार श्रेष्ठलाई किटानी जाहेरी दिए पछि साम्पाङ घरबाटै पक्राउ परेका थिए । श्रेष्ठ फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मुहानमा बिछ्याइएको पाइप लाइनमा गत आइतबार ४ बजे हर्क साम्पाङ राई सहितको २५,३० जनाको समूहले तोडफोड गरेका थिए । त्यसबाट करिब डेढ लाख बराबरको क्षति भएको खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।
मुलुकी अपराध संहिता ऐन २०७४, भाग २ को परिच्छेद २ सार्वजनिक शान्ति विरुद्धको कसुरको दफा ६८ मा सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने (१) कसैले सार्वजनिक विद्युत वा दूरसञ्चार वा त्यस्तै प्रकृतिका अन्य सार्वजनिक सेवा वा कानुन बमोजिमको सार्वजनिक सेवा सञ्चालनमा कुनै किसिमको डर त्रास, देखाई बन्द गर्न वा कुनै किसिमले अवरुद्ध गर्न हुँदैन भनी उल्लेख छ ।
दफा ७३ मा आवश्यक वस्तु तोडफोड वा हानि, नोक्सानी गर्न नहुने (१) कसैले यस परिच्छेद अन्तर्गतको कुनै कसुर गरी कानुन बमोजिम आवश्यक वस्तु मानिने कुनै वस्तु वा सार्वजनिक वा निजी सम्पत्ति हानि, नोक्सानी, तोडफोड वा आगजनी गर्न वा गराउन वा अरू कसैलाई प्रयोग गरी वा आफैँले त्यस्तो वस्तु वा सम्पत्ति बिगार्नु हुँदैन भनी उल्लेख गरिएको छ ।
साम्पाङलाई बिहान अदालतमा म्याद थप गर्न लाने क्रममा इलाका प्रहरी कार्यालय धरानमा एक छिन तनाव भएको थियो । साम्पाङको समर्थकले लान नदिने भन्दै विरोध गरेका थिए ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        