धरान : धरान उपमहानगरपालिकामा पछिल्लो समय समुदाय स्तरमै कोरोना भाइरसको सङ्क्रमण भएको भन्दै गरेको एक साता लामो लकडाउन अत्यन्तै कडा हुने बताइएको छ ।

यस भन्दा अघि सरकारले घोषणा गरेको लकडाउन भन्दा यस पटक स्थानीय निकाय धरान उपमहानगरपालिका आफैले लकडाउन घोषणा गरेकोले यसलाई स्थानीय निकाय आफैले कडाइ गर्ने धरान उपमहानगरपालिकाले जनाएको छ ।

यस भन्दा अघिको लकडाउनमा कडाइ गर्न खोज्दा पनि अटेरीपन देखाउनेहरूले लकडाउन उल्लङ्घन गरेर बिहान मर्निङवाक, इभिनिङवाक गरेका थिए । यस पटक भने घर देखि कोही पनि बाहिर निस्कन नपाइने गरी प्रहरी परिचालन गरिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् । औषधी पसल, एम्बुलेन्स, दमकल, शव बाहान बाहेकका सवारी साधन चल्न पाउने छैनन् । अत्यावश्यक औषधी पसल बाहेक सबै पुर्णरुपमा बन्द हुने बताइएको छ । यसका लागि सर्वसाधारण हिँडडुल, आउजाउ पुर्णरुपमा निषेध गरिएको छ ।

धरान उपमहानगरपालिकाले गरेको लकडाउनलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई निषेधित क्षेत्र घोषणा गर्नुले पनि थप सघाउ पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालयको निषेधित क्षेत्र घोषणा गरेकोले जिल्लाभर प्रहरी परिचालन हुने भएकोले धरान लगायत इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी र रामधुनी नगरपालिकालाई पनि थप सहयोग पुगेको छ ।

धरानमा पछिल्लो समय २८ जना कोरोना सङ्क्रमितको सङ्ख्या पुगेकोमा ९ जना समुदायकै मानिसमा कोरोना सङ्क्रमण भएको पाइएपछि धरान उपमहानगरपालिकाले समुदाय स्तरमा कोरोना सङ्क्रमण भएको भन्दै लकडाउन घोषणा गरेको हो । यो लकडाउनलाई कार्यान्वयन गर्न धरान उपमहानगरपालिकाले आम धरानवासीलाई घर बाहिर ननिस्किन र लकडाउनको पूर्ण पालना गर्न अनुरोध समेत गरेको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय धरानले पनि लकडाउनको पुर्णपालना गर्न सबैलाई आव्हान गरेको छ । लकडाउन सँगै जिल्लामा निषेधित क्षेत्र पनि घोषणा भएकोले दुवैको पालना गर्नुपर्ने र पालना नगरेको पाइएमा कानुनी कारबाही गर्न प्रहरी तयार रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बस्नेतले बताए ।