धरान : धरानमा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान ८ प्रीति भल्भ एन्ड फिटिङ्स इन्डस्ट्री प्रा.ली.मा कार्यरत धरान १३ का कोरोना संक्रमित युवाको कनट्र्याक्ट ट्रेसिङको क्रममा आज पनि थप १२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । प्रीति भल्भ एन्ड फिटिङ्स इन्डस्ट्री प्रा.ली.मा कार्यरत ६ जनामा कोरोना पुष्टि भएपछि थप सोही उद्योगमा काम गर्ने र एन्फा क्वारेनटाइनमा बस्ने गरी साउन १९ गते ९२ जनाको स्वाब लिइएको थियो । त्यही ९२ जना मध्येबाट आज १२ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार आज कोरोना संक्रमित हुनेहरूमा धरान ३ का एउटै परिवारका ५ जना ८५ वर्षीय पुरुष, ८० वर्षीय महिला, ४० वर्षीय पुरुष, ३६ वर्षीय महिला र ७ वर्षीय बालक रहेका छन् । यसै गरी धरान २ का २२ वर्षीय महिला एन्फा क्वारेनटाइनमा बसेकामा देखिएको र उनी भारतबाट आएका हुन् । धरान ११ का ३५ वर्षीय पुरुष, भारतीय आर्मी, धरान १५ का ३४ वर्षीय पुरुष भारतीय आर्मी, धरान १८ का ४० वर्षीय महिला, धरान १७ का २८ र २६ वर्षीय पुरुष पनि भारतीय आर्मी भएको र उनीहरूको साथी धरान १९ का ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो । यसरी गरी १२ जनामा कोरोना सङ्क्रमण देखिएकोमा ६ जना समुदायका रहेका छन् भने बाँकी बाहिरबाट आएका र क्वारेनटाइनमा बसेका रहेका छन् ।

संक्रमित हुनेहरूमा ७ वर्षीय बालक देखि ८५ वर्षीय सम्म रहेका छन् । यी संक्रमित सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० पुगेको छ । समुदायमा संक्रमित हुनेहरू सबै जसो प्रीति भल्भका धरान १३ कै युवाको कनट्र्याक्ट ट्रेसिङको क्रममा समुदाय स्तरमा कोरोना संक्रमित भेटिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

समुदायमा कोरोना फैलिएकोले धरान उपमहानगरपालिकाले लकडाउन पुर्णपालना गर्न आव्हान गर्दै कोरोना सङ्क्रमणको जोखिमबाट जोगिन लकडाउनको बेलामा सबैलाई घर बाहिर ननिस्किन धरान उपमहानगरपालिकाले आव्हान गरेको छ ।