धरान : सुनसरीमा २ जना सशस्त्र प्रहरी सहित १० जनामा कोरोना पुष्टि भएको छ ।

सुनसरीको धरानमा १० वर्षीय बालक, १ पुरुष र २ महिला गरी ४ जना र दुहबी नगरपालिकामा १ जना महिला सहित ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसै गरी सुनसरीको सीमावर्ती क्षेत्र आमडुवा र कप्तानगन्जमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको सशस्त्र प्रहरी बल नं. ४ गणका प्रमुख एसपी कृष्ण ढकालले जानकारी दिएका छन् । सो क्षेत्रमा समुदाय स्तरमै कोरोना भाइरस फैलिएको हुन सक्ने एसपी ढकलाले बताए । पछिल्लो समय सीमा क्षेत्रमा आउजाउ गर्ने नभए पनि समुदायमा गस्ती गर्न हिँड्दा सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण भएको हुन सक्ने एसपी ढकालले बताए ।

यसै गरी प्रदेश १ मा आज ६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा १० र ३ जना प्रदेश १ बाहिरका जिल्लाका संक्रमित छन् । मोरङको विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना महिला, महोत्तरीका १ महिला १ पुरुष र सप्तरीका १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय ८३ पुगेको छ । प्रदेश १ मा आज १ हजार ५ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज सम्म ५१ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ७ सय ८८ नमुना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमणको पुष्टि भएको हो ।
यससँगै कुल सङ्क्रमितको सङ्ख्या २२ हजार ५ सय ९२ पुगेको छ । उनीहरूमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३ सय १३ जना निको भइसकेका छन् ।