धरान : धरान उपमहानगरपालिकाको मास टेस्टिङको क्रममा आज धरान १५ मा मात्रै १ सय २५ जनाको स्वाब सङ्कलन भएको छ ।

धरान-१५ का कोरोना संक्रमित परिवार, धरान ३ का सङ्क्रमितको परिवारको कनट्र्याक्ट टे्सिङका व्यक्ति, होटल, होम क्वारेनटाइनमा बसेकाहरू र मास टेस्टिङमा छुटेकाहरू गरी ८२ जना पुरुष र ४३ जना महिला गरी १ सय २५ जनाको स्वाबको नमुना सङ्कलन भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

धरान उपमहानगरपालिकाको वातावरण शाखामा कार्यरत महिला कर्मचारीमा कोरोना सङ्क्रमण भएको पाइएकोले भोलि धरान उपमहानगरका करिब १ सय जना कर्मचारीहरूको स्वाब लिइने तयारी भएको छ । समुदायमा कोरोनाको परीक्षणका लागि गठित रेनडोम मास टेस्टिङ समितिले मास टेस्टिङ गर्ने क्रममा भोलि धरान १६ का केही छुटेका व्यक्तिहरूको पनि स्वाब धरान उपमहानगरपालिकामै लिने तयारी गरेको पनि स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।

धरानमा कोरोना समुदाय स्तरमै फैलिरहेको बेलामा धरानमा सर्वसाधारण चौक-चौकमा भेला भएर गफ गर्ने जस्ता थुप्रै कार्यहरू साँझपख हुने गरेकोले यस्ता कुरामा पनि सुरक्षा निकायले चासो बढाउनुपर्ने र सर्वसाधारण आफै पनि सचेत र सजग हुनुपर्ने प्रमुख मेहेताले बताएका छन् ।