झापा : पछिल्लो समय कोरोना भाईरसको संक्रमण बढ्दो क्रममा फैलिरहेको छ । यसबाट झापा जिल्लापनि अछुतो रहन सकेको छैन । अझ झापामा पनि समुदायस्तरमै कोरोनाको संक्रमण फैलिएको पाएसँगै झापाका केहि पालिकाहरुले साप्ताहिक र अर्ध साप्ताहिक रुपमा लाग्ने गरेका हाट बजारहरु धमाधम बन्द गराउन थालेका छन् ।

झापाको गौरादह, शिवसताक्षी, बिर्तामोड, कनकाई नगरपालिकाले आफ्ना पालिकाका बिभिन्न क्षेत्रमा लाग्दै आएको साप्ताहिक तथा अर्ध साप्ताहिक हाट बजार बन्द गराएका छन् । गौरादह नगरपालिकाले केहि दिन अघि एक निर्देशन जारी गर्दै हाट बजार बन्द गराउने निर्णय गरेको थियो ।

गौरादहमा गौरादह बजार, दामुना बजार, ग्वालडुब्बा बजार र स्कूलचौन बजारमा बिशेष गरि ठुलो हाट लाग्ने गरेको थियो ।

यस्तै शिवसतासी नगरपालिकाले नगर क्षेत्रमा लाग्ने आधा दर्जन बढी साप्ताहिक हाट बजार एक हप्ता अघिदेखि बन्द गराएको छ । नगरले कोरोनाको संक्रमण समुदायमा फैलिन नदिन बढी भीडभाड हुने हाट बजार तथा धार्मिक र पर्यटकीय स्थलहरु भदौ २ गतेसम्मका लागि बन्द गरेको छ । जहा झापाको प्रमुख पर्यटकीय स्थल दोमुखासमेत परेको छ ।

यस्तै कनकाई नगरपालिकाले विज्ञप्तिनै जारी गर्दै आगामी भदौ ५ गतेसम्मलाई हाटबजार पूर्ण रुपमा बन्द गराएको जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणबाट सतर्कता अपनाउन यस्तो निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले जानकारी गराएका छन् ।
त्यसैगरी, विर्तामोड र अर्जुनधारा नगरपालिकाले समुदायस्तरमा कोरोनाको संक्रमण बढेसँगै नगरनै बन्दाबन्दी गरेका छन् ।

यस्तै मेचीनगर नगरपालिका- १० का एक स्थानीयबासीलाई कोरोना संक्रमित भएको पुष्टि भएपछि वडा नम्बर १० र ९ मा नगरले लकडाउन घोषणा गरेको छ । दुई वटा वडामा गरिएको लकडाउनसँगै धुलाबारी बजारमा अर्धसप्ताहिक रुपमा लाग्दै आएको हाटबजार बन्द गरिएको छ ।

झापाका अन्य पालिकाहरुले भने अहिलेनै लक डाउन र बजार बन्दको बिषयमा कुनै निर्णय सार्वजनिक गरेका छैनन् ।