धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरूलाई १३ वर्ष पछि पक्राउ गरेको छ ।

जिल्ला अदालत सुनसरीको मिति २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २१ वर्ष ६ महिना कैद सजाय सुनाइएका बक् लौरी ६ का ३२ वर्षीय तुलसी चौधरी र २० वर्ष कैद सजाय तोकिएका सोही स्थानका ३२ वर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पालाई पक्राउ गरेको हो ।

पक्राउ परेका यी दुवै जनाले २०६४ साल वैशाख २८ गते साथीको विवाहमा जन्ती गएको समयमा तत्कालीन एकम्बा गाउँ विकास समिति ४ का सुनेर कुमार ठाकुरलाई सामान्य वाद विवादको विषयलाई लिएर छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाइते भएका ठाकुरको उपचारको क्रममा वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मृत्यु भएको थियो ।

घटना घटाई फरार रहेका यी दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साउन २६ गते शेर्पालाई रामधुनी नगरपालिका ६ बाट तथा चौधरीलाई इनरुवा नगरपालिका ४ बाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी झुम्का कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।