धरान : सुनसरी उद्योग वाणिज्य सङ्घले आज आफ्नो ५७ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

साधारण रूपमा आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले सुनसरी उद्योग वाणिज्य सङ्घ स्थानीय सरकार र व्यापारी बिचको सम्बन्धको सेतुको रूपमा रहेको बताएकी छिन् । भण्डारीले “पर्यटकीय नगरीको रूपमा रहेको धरानमा मन्दिर मात्र होइन, धरानलाई अझ उत्कृष्ट गन्तव्य बनाउनका लागि थप लगानी गर्नुपर्ने” बताएकी थिइन ।

सङ्घका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको सो वार्षिकोत्सव कार्यक्रममा सङ्घले कोभिड–१९ को महामारीबाट सुरक्षित रहनकालागि धरान उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय धरान, सशस्त्र प्रहरी बल बेस क्याम्प फुस्रे र जिल्ला ट्राफिक कार्यालयलाई फेस शिल्ड, मास्क, सेनिटाईजर र गाडीमा सेनिटाईज गर्ने उपकरण समेत सङ्घले प्रदान गरेको थियो ।

त्यसै गरी उक्त कार्यक्रममा २०७६ साल फागुन १५ देखि चैत्र ७ गतेसम्म सङ्घले आयोजना गरेको औद्योगिक व्यापार मेला-२०७६ को स्कुटर उपहार नतिजा समेत घोषणा गरिएको थियो । मेला अवधिमा प्रवेश टिकटको अर्धकट्टी मध्येबाट गोला प्रथाद्वारा टिकट नं. १८६५० लाई स्कुटर विजेता घोषणा गरिएको कार्यसमिति सदस्य विष्णु बरालले बताएका थिए ।

सो कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख चन्द्रबहादुर कार्की, इलाका प्रहरी कार्यालय धरानका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेत, सशस्त्र प्रहरी कार्यालय, धरानका प्रमुख सुमन पोख्रेल, नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अञ्जन कोइराला, धरान उपमहानगरपालिकाका प्रहरी निरीक्षक विष्णु कोइरालाको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सभापतित्व सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले गरेका थिए ।