धरान : होटल एसोसिएसन धरानले असोज १ गते देखि होटल व्यवसाय सञ्चालनको प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय सुनसरीलाई आग्रह गरेको छ ।

एसोसिएसनले आज धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय, धरान उपमहानगरपालिका, होटल तथा पर्यटन व्यवसायी सङ्घ, प्रदेश नं. १, सुनसरी उद्योग वाणिज्य सङ्घ,धरान र इलाका प्रहरी कार्यालय, धरानमा आज असोज १ गते देखि होटल व्यवसाय सञ्चालन गर्न वातावरण बनाइदिन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको कारणले विशेष गरी पर्यटन तथा होटल व्यवसाय क्षेत्रलाई आक्रान्त र धराशायी बनाई करोडौँको लगानी र हजारौँ व्यवसायहरू, त्यस व्यवसाय कार्यरत कर्मचारीहरू साथै उनीहरूका घर परिवार सहितको अवस्था भयावह स्थितिमा पुगेको ज्ञापन पत्रमा उल्लेख छ ।

यस्तै भयावह अवस्था रहेमा ६ महिनादेखि लकडाउनका कारण बेरोजगार बन्दै आएको व्यावसायिक र आश्रित परिवारहरूको स्थिति कोभिड १९ को भन्दा पनि घरमा १ छाक टार्न नसकिने कारणले जीवनयापन गर्न नसकी रोग र भोकले ग्रसित हुँदै झन् विकराल रूप धारण गर्दै जानेछन् । त्यसैले साना, ठुला मझौला तथा आवासीय लज, होटल, रिसोर्टहरुलाई आवश्यक सुरक्षाका स्वास्थ्य मापदण्ड, कार्यविधि अवलम्बन गराई असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनको व्यवस्था मिलाई दिई सहयोग गरिदिन ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेपछि यस क्षेत्रमा व्यवसायीहरूले बैङ्क तथा वित्तीय संस्थाहरूबाट ऋण लिएर व्यवसाय सुरु गरेका थिए । नयाँ तथा पुराना लगानी र थप लगानी कर्ताहरूको बैङ्क ब्याज, किस्ता रकम साथै घर भाडामा छुट, अनुदान, राहत तथा किस्तामा सहुलियत प्रदानका निम्ति सम्बन्धित निकायमा आवश्यक पहल गरी होटल तथा पर्यटन व्यवसाय र व्यवसायीलाई यस विपद् अवस्थाबाट जोगाउन अग्रणी भूमिका निर्वाह गरी सहयोग गरिदिन पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । होटल एसोसिएसन अफ धरानका अध्यक्ष सरोज भट्टराई र महासचिव सचेन्द्र राईद्वारा हस्ताक्षर गरिएको छ ।

Gyapan-patraGyapan-patra-1 Gyapan-patra-3