झापा : निरन्तरको वर्षाले झापाका विभिन्न नदिहरुको जल स्तर बढेको छ । यस्तै विभिन्न नदिहरुमा बाढी आएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिरिङ खोलामा आएको बाढीका कारण बाह्रदशी गाउँपालिका-७ तुल्सीबारी क्षेत्रमा बिरिङले कटान गर्दा ६ परिवार विस्थापित भएका छन् । बिरिङ खोलामा आएको बाढीले नदी किनाराका बस्तीमा कटान सुरु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण प्रसाद कोइरालाले जानकारी दिएका छन् ।

वर्षा नरोकिएकाले बाढी अझ बढ्न सक्ने र क्षति पुर्‍याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन झापा प्रहरी प्रमुख कोइरालाले आग्रह पनि गरेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विस्थापितलाई नजिकैको स्कुल मैदानमा राखिएको छ । बिरिङकै बाढीले कन्काई नगरपालिका-८ स्थित त्रिवेणी टोलमा पनि कटान गरिरहेको छ । त्यहाँका ६ घरपरिवार डुबानको उच्च जोखिममा छन् ।

बाढीका कारण झापाका मेची, कनकाई, रतुवा आदि नदीको बहावसमेत बढेको छ । खासगरी दक्षिणी क्षेत्रका बस्ती डुबान हुन सक्ने भन्दै प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै हल्दीवारी गाउँपालिका-३ देवी बस्तीमा देउनियाँ खोला पस्दा स्थानीय दिलबहादुर राईको परिवार विस्थापित भएको छ । बाढीले राईको घर भत्किएको छ ।

यस्तै झापाको कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रमा समेत मेची नदीले कटान सुरु गरेको छ । पाठामारीका प्रहरी जवान विजय मिश्रका अनुसार नेपाल-भारत सीमाको पिलर नम्बर ११२ आसपासमा करिब ७ मिटर कटान गरेका कारण नजिकैको बस्ती डुब्ने जोखिम बढेको छ ।