धरान : प्रदेश १ का कोरोना परीक्षण गर्ने ल्याबहरूमा पिसिआर परीक्षण गर्दा चाहिने केमिकल रिएजेन्ट सकिएको कारण कोरोना परीक्षण गर्नमा समस्या भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बुधवार एक सुचनानै जारी गरेर प्रदेश र सङ्घीय सरकारबाट रिएजेन्ट उपलब्ध नहुन्जेल सम्मलाई सरकारले तोकेको २ हजार शुल्क लिएर मात्रै कोरोना परीक्षण गर्ने जनाएको छ । बीपीको मात्रै होइन प्रदेश नं. १ का अरू ल्याबहरूमा पनि रिएजेन्ट सकिएको कारण कोरोना परीक्षण गर्न समस्या भएको छ ।

यसले गर्दा अहिले प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै कोरोना परीक्षण भइरहेको छ । यस्तै अवस्था केही दिन रही रहने हो भने अबको केही दिनमा अरू ल्याबबाट कोरोना परीक्षण बन्द हुने प्रदेश नं. १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयन्द्र यादवले बताए ।

उनका अनुसार सरकारले समयमै कोरोना परीक्षणका लागि रिएजेन्ट केमिकल उपलब्ध गराएन भने प्रदेश १ मा कोरोना परीक्षण शून्य पनि हुनसक्छ । स्वास्थ्य सेवा विभागले कोरोना परीक्षणका लागि चाहिने रिएजेन्ट केमिकल कोरोना परीक्षण गर्ने ल्याबहरूमा अहिले उपलब्ध गराउन नसक्दा कोरोना परीक्षण दर पनि घटिरहेको बताइएको छ ।

निजी अस्पतालहरूले शुल्क लिएर फाट्टफुट्ट कोरोना परीक्षण गरिरहेको भए पनि अरू ल्याबहरूले परीक्षण गर्न नसकिरहेको अवस्था सिर्जना भएको निर्देशक यादवले बताए ।

कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको बेलामा यसरी कोरोना परिक्षणनै रोकिने अवस्थाको सिर्जना हुनुले कोरोना सङ्क्रमणको झन् जोखिम बढेको स्वास्थ्य विज्ञहरूको भनाई छ ।