इटहरी : इटहरीका युवतीहरूले कालो कपडा लगाएर बलात्कार विरुद्ध प्रदर्शन गरेका छन् । बालिका बलात्कार तथा हत्याका घटना बढिरहेको अवस्थामा 'तँ बलात्कारी होस्' भन्दै युवतीहरूले प्रदर्शन गरेका हुन् ।

इटहरीका युवतीहरू द्वारा मुख्य चौकमा शुक्रवार बलात्कार विरुद्ध प्रदर्शन गरिएको हो । इटहरीको पूर्व लाइनमा भेला भएका २ सय युवतीहरूले शुक्रवार कालो कपडा लगाएर टाउकोमा कालो पट्टी लगाएर प्रदर्शन गरेका हुन ।

बलात्कारीलाई कडा कारबाही सहित समाजको सोच बदलेर यस्ता घटना निर्मूल हुने उनको अभियानकर्मी सँगिना राईले बताइन् । पछिल्लो समय आफन्त र परिवारका सदस्यबाट नै धेरै बालबालिका बलात्कृत हुनु परेकाले यसको सजायका लागि संविधान संशोधन गरी कडा भन्दा कडा कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

उनीहरूले बलात्कारीलाई हदै सम्मको कारबाहीको माग राख्दै ‘म असुरक्षित, म नारी’, ‘स्टप रेप’, ‘मेरो लुगा छोटो होइन, तिम्रो सोच छोटो’, ‘छोरीको इज्जत माथि खेलबाड नगर’, ‘सरकार बलात्कारीलाई सजाय देऊ’, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियो ।

कोरोनाको सङ्क्रमण भन्दा पनि बलात्कार ज्यादा भइरहेको र यो गतिविधि नहोस् भन्ने उद्देश्यले हामीले यो अभियान चलाएको राईको भनाइ छ ।