इटहरी : २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा प्रदेश १ का इन्चार्ज भीम आचार्यले टिकटको लागी पैसा मागेको भन्दै नेकपा नेता रेवती रमण भण्डारीले आरोप लगाएका छन् ।

सोमबार राती फेसबुक स्ट्याटस मार्फत भण्डारीले मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा टिकट दिलाइ दिने भन्दै श्रेष्ठले अध्यक्ष पदका आकाङ्क्षी भेषराज काफ्लेसँग १५ लाखमा माग गरेको कुरा सत्य भएको र आफू अचम्मित भएको उल्लेख गरेका छन् ।

Rewati Status

श्रेष्ठले काफ्लेलाई फोन गरेर पैसा मागेको अडियो यस अघि नै सार्वजनिक भएको थियो । भण्डारीले पछिल्लो समय माधव नेपाल गुट परिवर्तन गरी ओली गुटमा सत्रृय भएसङै आचार्य विरुद्ध उत्रिएका हुन् । २०७४ सालको निर्वाचनमा टिकट नपाएपछि भण्डारी आचार्य सँग रुष्ट छन् । आचार्यकै कारण आफूले टिकट नपाएको भन्दै उनी आचार्यको विरुद्धमा लागेका हुन । संविधान सभा सदस्य भण्डारी संविधान मस्यौदा समितिका सदस्य समेत हुन् ।

आचार्यकै कारण आफूले सङ्घीय संसद्को टिकट नपाएको उनको बुझाई छ । त्यसपछि आचार्य विरुद्ध गुटबन्दी गरेका भण्डारीले प्रदेश १ नेकपा संसदीय दलको निर्वाचनमा समेत अचार्यलाई हराउन शेरधन राईको पक्षमा माहोल बनाएका थिए । मुख्यमन्त्री बन्ने तीव्र तयारीमा रहेका आचार्य संसदीय दलमा १ मतले पराजित भएका थिए ।

इटहरीमा आचार्य निकट मानिने काशीनाथ दंगालले गरेको सहमति भत्काउँदै नेपाली काँग्रेसको सहमतिमा जनता बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा  भण्डारी निर्वाचित भएका हुन् । अहिले उनी वडा कमिटी देखी नै आचार्य विरुद्धमा माहोल बनाउने अभियानमा लागेका छन् । 

यसरी भयो १५ लाख बार्गेनिङ

सुरुमा उनै काफ्लेले रूपनारायण श्रेष्ठलाई फोन गर्छन् । श्रेष्ठले फोन गरेको बेला काफ्लेको कल रिसिभ नभएको र पछि काफ्लेले कल ब्याक गरेका हुन् । 
काफ्लेले पहिल्यै देखी टिकट मिलाइदिन आग्रह गरिरहेकोले श्रेष्ठले पैसाको प्रस्ताव गर्छन् । कुराकानीका क्रममा श्रेष्ठले काफ्लेसँग २१ लाखको प्रस्ताव गर्छन् । पछि २१ लाखमा आफूले भीम आचार्यलाई सम्झाएको र १५ लाख सम्ममा मिलाउने बचन दिन्छन् । 
श्रेष्ठले अरू आकांक्षीहरु देवी प्रसाद आचार्य, डिल्ली अधिकारी र नरेन्द्र ढुङ्गेलकोलाई देखाउनै पर्ने भएको भन्दै तपाईँले जसरी पनि १५ लाख खोज्नुपर्ने र बरु त्यसको लागी आफूले सघाउने बचन दिएका हुन्छन् । काफ्लेले आनाकानी गर्दा समेत श्रेष्ठले भीम आचार्यको नाम लिँदै बारम्बार जसरी पनि पैसा मिलाउन अनुरोध गर्छन् । गाउँपालिका अध्यक्ष भएपछि धेरै पैसा कमाउन सकिने भन्दै श्रेष्ठले कन्भीन्स गराएको अडीयोमा सुन्न सकिन्छ । 
हाल नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज भीम आचार्यले टिकटको लागी पैसा मागेको श्रेष्ठले खुलासा गरेका हुन् । पछि काफ्लेले पैसा नदिने भएपछि देवी प्रसाद आचार्यले टिकट पाए । हाल उनै आचार्य मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष भएका छन् ।

‘अब यो टिकट ल्याउन नै पैसा चाहिने भयो । तपाईँलाई प्रस्ट भन्छु म । अब के हो कति हो तपाईँको जम्मै कुरा चाहिँ जान्दिन । किन भने देवी र नरेन्द्रलाई चाहिँ लडाउनै पर्ने भयो । यिनीहरूले धेरै गरे । देवीले चुनाव जित्छ हरे त्या भन्छ मलाई सिधै भीम आचार्य । भेषराज त तेस्रोमा अरे भने, कसरी भने मैले, देवी फस्ट रे, सेकेन्डमा नरेन्द्र हरे, थर्डमा मात्र भेषराज, भेषराज र डिल्ली खतिवडा उस्तै–उस्तै हुन् भन्छन् , ’ श्रेष्ठले भनेका छन् ।

तर काफ्लेले आफूले पार्टीमा योगदान गरेको र इमानदार भएकोले पैसा दिएर टिकट नदिने बताउँछन् । ‘अब मैले के भन्नु म त्यस्तो पैसावाला मान्छे होइन, मसँग इमान्दारीता छ । म त्यो ठाउँबाट काम गर्ने क्षमता राख्छु । तर पैसाको हकमा मेरो स्थिति बलियो छैन । साथीहरूसँग पैसा होला आफ्नो ठाउँमा छ । मैले कमरेडलाई सहयोग गर्दा पनि गाउँमा २ रुपैयाँ व्याजमा काढेर कमरेडको समस्या समाधान गरेको हो, ’ पहिला पनि पैसा दिएको कुरा प्रस्ट पार्दै काफ्लेले भनेका छन् ।  

श्रेष्ठले काफ्लेको कुरालाई ध्यान नदिई पुनं ऋण खोज्न दबाब दिन्छन् । पछि गाउँपालिकाको अध्यक्ष भएपछि त्यो सबै एकैपटकमा असुल हुने भन्दै उनले सम्झाउँछन् ।  
प्रत्युत्तरमा काफ्ले भन्छन्, ‘हुन्छ भने एउटा इमान्दारीता र मूल्याङ्कन गरेर दिने हो भने त्यो मैले पाउनु पर्छ, मेरो आधार बलियो बनेको पनि छ । कमरेडले सहयोग गर्नुपर्छ, मैले तपाइसँग पहिलेदेखि भरोसा गरेको पनि हो, विश्वास गरेको पनि हो । अब पैसाकै बलमा अब साथीहरूले टिकट पाउँछन् ल्याउँन्छन् भने अब बेग्लै कुरा भयो, अब एमालेमा त्यस्तो प्रवृत्ति बढेछ भनेर भन्नु पर्ने हुन्छ ।’

‘होइन होइन त्यो त होकी सही गर्ने त भीम आचार्य हो नि कमरेड कस्तो कुरा गर्नुहुन्छ । मैले तपाईँलाई यतिकै भेटेर आएर भनेको छु, त्यो त स्वाभाविक हो, सही गर्ने त भीम आचार्यले गर्ने हो नि, निर्णय त भीम आचार्यले गर्छ नि कमरेड, कस्तो कुरा गर्नुहुन्छ ।, उहाँले भन्दै हुनुहुन्छ फस्ट देवी, सेकेन्डमा नरेन्द्र थर्डमा डिल्ली खतिवडा र उहाँ ९उनै काफ्ले० को उस्तै उस्तै हो भन्ने कुरा रिपोर्टिङ छ भन्नु हुन्छ ,’ श्रेष्ठले थप दबाब बढाउँछन् ।  

पैसा नदिए कुनै पनि हालतमा टिकट आउन नसक्ने भन्दै भीम आचार्यले स्वयम्ले आफू सँग पैसा मागेको श्रेष्ठ बताउँछन् । ‘यो आदर्श तपाईँको म भनेर मात्र हुन्न । ऋणै गर्ने हो तपाईँले, मैले भने नि ऋणै गर्ने हो त्यस कारण तपाईँले अलिकति चाहिँ गर्नै पर्ने भयो कमरेड, त्यति भएपछि म फाइनल्ली तपाईँलाई आफ्नै तयारीमा लाग्नुस् भन्छु । भरे बेलुकै भन्छु तपाईँलाई,’ श्रेष्ठले विश्वास दिलाउन खोज्छन् ।

‘जो दिने हो त्यसलाई भन्दा अरूलाई थाहा हुन्न, भीम आचार्य भनेको एकदमै गोप्य मान्छे हुन् । उहाँले हिजो भन्नु भएको छ । तपाईँले टिकट लिने हो भने कुरा यसो हो भन्नु भएको छ,’ श्रेष्ठ भन्छन् । 

तर काफ्ले पैसा नदिने कुरामा जोड दिन्छन् । अन्त्यमा काफ्लेले त्यति ठुलो रकमको बारेमा चाहिँ सोच्नु पर्ने भन्दै घरमा छोराहरूसँग सल्लाह गरेर खबर गर्ने भन्दै श्रेष्ठलाई पन्छाउन खोज्छन् । तर त्यो बेला पनि श्रेष्ठले बारम्बार भीम आचार्यको नाम लिँदै पैसा जसरी पनि जोहो गर्न आग्रह गर्छन् । यो कुरा आफूहरू बिच मात्र सीमित रहोस् भन्दै अत्तालिए जसरी उनी प्रस्तुत भइरहेको भान हुन्छ ।