विराटनगर : प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ सुरु गरिने भएको छ ।

कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रूपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम सुरु गर्ने तयारी गरिएको हो ।

अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीलाई लक्षित गरी सामाजिक विकास मन्त्रालयले कोरोना प्रभावित क्षेत्रका विद्यालयलाई लक्षित गरी सिकाइलाई निरन्तरता दिने उद्देश्यले ‘हेल्लो विद्यार्थी कार्यक्रम’ सुरु गर्न लागेको हो ।

पहिलो चरणमा ६ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम सुरु गर्ने तयारी गरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताएका छन् ।

धनकुटाको पाख्रीवास नगरपालिका र साँगुरीगढी गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, सुनसरीको बर्जू र गढी गाउँपालिका, झापाको कचनकवल र कमल गाउँपालिका र मोरङको केराबारी गाउँपालिकामा सम्झौता भइसकेको निर्देशक बुढाथोकीले बताए । मोरङको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकामा सम्झौता गर्न बाँकी रहेको छ ।

नेपाल टेलिकमको पाठशाला ९ क्लोज युजर ग्रुप० सियुभी सिम मार्फत विद्यार्थीलाई सिकाउन लागिएको शिक्षा निर्देशक बुढाथोकीको भनाई छ । विद्यार्थी र शिक्षकले मात्र प्रयोग गर्न मिल्ने सियुजी सिममा १२९ रुपैयाँले १ महिना पुग्ने छ । बुढाथोकीका अनुसार विद्यार्थीका लागि सितैमा सिम दिईने र ३ महिनाका लागि शिक्षक र विद्यार्थीको सिममा ब्यालेन्सको व्यवस्था गरिने छ ।

नेपाल सरकारको सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार अनुसार इन्टरनेट, टिभी र कम्प्युटरको सुविधा नभएका विद्यार्थीका लागि सिम र रिचार्जको व्यवस्था गरिने बताइएको छ । स्थानीय तहका २५० शिक्षक र ५०० विद्यार्थीको कोटा निर्धारण गरिएको छ ।

रिचार्ज गर्नुपर्ने विद्यार्थीको विवरण स्थानीय तहले तयार गर्ने निर्देशक बुढाथोकीले बताए । उनका अनुसार विद्यार्थी छनौट गर्दा गरिब भित्रको पनि गरिबलाई छनौट गर्नुपर्ने छ । विद्यार्थीलाई पुस्तक वितरण गरिसकिएको र अभिभावकको मोबाइलमा सिम र रिचार्ज गर्नाले कार्यक्रम प्रभावकारी बन्ने शिक्षा निर्देशनालयको विश्वास छ । अभिभावकको मोबाइल हुने हुँदा विद्यार्थीको पठन पाठनबारे अभिभावकसँग पनि जानकारी लिन सकिने बुढाथोकीले बताए ।

अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीका लागि टेलिफोनबाट सिकाउने गरी कार्यक्रम तयार गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । कोरोनाको सङ्क्रमण कहिले सम्म भन्ने यकिन नभएकाले पठन पाठन कार्यलाई अघि बढाउन मन्त्रालयले टेलिफोनबाट शिक्षण सिकाई सुरु गर्ने तयारी गरेको मन्त्री घिमिरेले बताए ।

‘हेल्लो विद्यार्थी कार्यक्रम’का लागि सामाजिक विकास मन्त्रालयले १ लाख ५० हजार र स्थानीय तहले १ लाख रुपैयाँ व्यहोर्ने छन् ।