झापा : झापामा ब्यक्ती हत्याको शृङ्खलाले निरन्तरता पाइरहेको छ । झापामा एकपछि अर्को गर्दै शृङ्खलाबद्ध हत्याका घटना हुन थालेका छन् ।

भदौ १६ यता मात्रै झापामा पाँच जनाको हत्या भएको छ । सबै घटनाका प्रकृति हेर्ने हो भने ती सबै घटना आवेगात्मक अपराधसँग जोडिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

झापामा एक पछि अर्को गर्दै शृङ्खलाबद्ध हत्याका घटना हुन थालेका छन् । भदौ १६ यता मात्रै झापामा पाँच जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत भाद्र १६ गते यता मात्रै झापामा पाँचजनाको हत्या भइसकेको छ ।

गत भदौ १६ गते झापाको शिवसताक्षी नगरपालिका ११ मा गोमनसिंह मगरको आफ्नै साथी मनकुमार लिम्बूले घाँटी रेटेर हत्या गरेका थिए । हत्याको कारण आर्थिक लेनदेन रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । यो घटना पनि पेशेवर अपराध भन्दापनी आवेगात्मक अपराधसँग जोडिएको प्रहरीको भनाइ छ ।

यस्तै गत असोज १४ गते झापाको गौरादह नगरपालिका वडा नम्बर १ मा ६५ वर्षीय मनमाया भण्डारी आफ्नै घरमा मृत फेला परेकी थिइन । उनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । त्यसको ३ दिनपछि उनका श्रीमान् ६४ वर्षीय भीम भण्डारीलाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गर्‍यो । भण्डारीलाई अहिले झापा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । यो घटनामा पनि पेशेवर भन्दा पनि आवेगात्मक अपराध जोडिएको अनुसन्धानकर्ता प्रहरी अधिकारीहरू बताउँछन् ।

यस्तै त्यसको केही दिनपछि नै झापाकै कमल गाउँपालिका २ मा ३४ वर्षीय रामजी थापाले आफ्नै श्रीमती २४ वर्षीय रित्तालाई खुकुरी प्रहार गरेर हत्या गरे । यो घटनाको मुख्य कारणनै पारिवारिक बेमेल रहेको अनुसन्धानबाट खुल्न आएको थियो । यो घटना पनि आवेगमा आएर भएको देखिन्छ ।

यस्तै गत असोज २८ गते झापाकै कनकाई नगरपालिका ३ सुरुङ्गा खोलाको डिलमा रहेको बाँस घारीमा सोही ठाउँका २२ वर्षीय अभिषेक चौधरीको हत्या गरेर फालिएको अवस्थामा शव फेला पर्‍यो । धारिलो हतियार प्रयोग गरेर चौधरीको हत्या गरेको अवस्थामा शव फेला परेको थियो । घटनाको २४ घण्टा नबित्दै चौधरीको हत्यामा संलग्न कनकाई नगरपालिका ७ निवासी २२ वर्षीय रविन राजवंशी (टल्के) लाई प्रहरीले पक्राउ गरी सार्वजनिक गर्‍यो । मृतक र हत्याराबिच लागू औषध गाँजा सेवन गर्न नदिएको निहुँमा झगडा भएको थियो । यो घटना पनि आवेगमा आएर भएको प्रहरीको निष्कर्ष छ ।

यस्तै पछिल्लो घटनाका रूपमा आइतबार झापाको कमल गाउँपालिका ६ मा दमक १ का चुडामणी भण्डारीले आफ्नै श्रीमती टिकमाया भण्डारीको हत्या गरे । आफूले बर्षौसम्म विदेशमा बसेर कमाएको सम्पत्ति हिनामिना गरेको र परपुरुषसँग हिमचिम बढाएको रिसमा चुडामणीले आफ्नै श्रीमती टिकामायालाई खुकुरी प्रहार गरी हत्या गरे ।

यो घटना पनि आवेगात्मक अपराधका रूपमा चित्रण गर्न सकिने दमक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । पछिल्ला दिनहरूमा पेशेवर अपराध भन्दा पनि आवेगात्मक अपराधका घटना अलि बढी हुने गरेको नेपाल प्रहरीको तथ्याङ्कले पनि देखाउने गरेको छ ।

तर, सामान्य विवादमा समेत हत्याका घटना हुन थालेपछि झापामा प्रहरीलाई नागरिकको जीउधनको सुरक्षा गर्न चुनौती थपिएको देखिन्छ । यी सबै घटनामा घरेलु हतियारकै प्रयोग भएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।