झापा : झापाको गौरादह नगरपालिका-१ मा एक महिलाको हत्या भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले घटनामा संलग्न रहेको भन्दै उनका श्रीमानलाई पक्राउ गरी अनुसन्धान गर्दै थियो। ती महिलाका श्रीमानलाई पुर्पक्षका लागि जेल चलान समेत गरिसकिएको छ। यो घटना सेलाउन नपाउँदै झापाकै कमल गाउँपालिकामा फेरी अर्को घटना भएको छ ।

झापाको कमल गाउँपालिका-६ जिवनचोकमा खेतीमा गएका समयमा एक पुरुषले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी बीभत्स हत्या गरेका छन् । आइतबार साँझ भएको यो घटनामा संलग्न पुरुषलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको दमक प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।

किन मारे श्रीमानले आफ्नै श्रीमती ? यस्तो छ घटनाको नालीबेली

झापाको दमक नगरपालिका-१ मामा चौक बस्ने ४७ वर्षीय चूडामणि भण्डारीले २२ वर्ष वैदेशिक रोजगारीमा बिताए । उनले आफ्नो जीवनको ऊर्जाशील समय विदेशमा पसिना बगाएर केही धन सम्पत्ती पनि जोडजाम गरेका थिए। जब उनी गत भदौमा स्वदेश फर्किए । त्यसपछि ३७ वर्षीय निजकी श्रीमती टीकामायाले अनेक बहानाबाजी सुरु गर्न थालिन। उनीहरू गत भदौ देखी एकै स्थानमा बसेका समेत थिएनन् ।

चूडामणिले कमल गाउँपालिका-६ जीवनचोकमा केही जग्गा समेत जोडेका थिए। काम गर्ने कोही नभएपछि उनले धान खेती गर्न अरुलाई नै दिएका थिए । घटना भएको दिन अर्थात् आइतबार चूडामणि आफ्ना अरू २ जना नातेदार सहित सो स्थानमा धान जिम्मा लिन पुगेका थिए ।उनकी श्रीमतीले पनि आफूलाई धान चाहिने भन्दै उनीसँग केही अघिदेखी नै विवाद गर्दै आएकी थिइन । जब चूडामणि धान लिन आफ्नो खेतीमा पुगे । त्यसको केहिबेर मै श्रीमती टिकामाया पनि सो स्थानमा प्रकाशचन्द्र दाहालको मोटरसाइकलमा चढेर पुगिन ।

जब त्यहा श्रीमान् श्रीमतीको भेट भयो । त्यसपछि चूडामणि र प्रकाशबिच केही भनाभन समेत भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पण्डितले बताए । त्यस लगत्तै चूडामणिले आफूले झोलामा बोकेर लुकाइछिपाई लगेको धारिलो खुकुरी निकालेर प्रकाशलाई टाउकोमा प्रहार गरे ।

प्रकाशलाई खुकुरी हानेको देखेपछि धान काट्दै गरेकी एक महिलाले हार गुहार गरिन। त्यती नै बेला प्रकाश त्यहाबाट भाग्न सफल भए । उनलाई उपचारका लागि दमकस्थित एडभान्स अस्पताल ल्याईएपनि त्यहा उपचार सम्भव नभएपछि तत्कालै बिर्तामोडस्थित बिएण्डसि अस्पताल बिर्तामोड लगियो । आज बिहान दमक प्रहरी प्रमुख पण्डितले दिएको जानकारी अनुसार अहिले प्रकाशको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनी अहिले बोल्न सक्ने अवस्थामा छन् ।

यता प्रकाशलाई खुकुरी हानेका चूडामणिले थप आक्रोशमा आए यसलाईपनि सिध्याउँछु भन्दै श्रीमती माथी पनि अन्दाधुन्द खुकुरी प्रहार गरे । खुकुरी प्रहारबाट टिकामायाको घटनास्थलमै ज्यान गएको थियो ।

हत्यापछि प्रहरीलाई खबर गर्न चूडामणिकै आग्रह

जब चूडामणिले आफ्नी श्रीमतीको हत्या गरे त्यसपछि त्यहा होहल्ला र हारगुहारको चित्कार सुनेर गाउँलेहरू भेला भए । तर कसैलेपनि चूडामणिको हातमा रगत लत्पतिएको खुकुरी खोस्ने हिम्मत गर्न सकेनन् । बरु चूडामणि आफैले मैले यसलाई मार्नु थिए मारे (श्रीमतीको लास देखाउँदै) , म कसैलाई केही गर्दिन अब प्रहरीलाई खबर गर्दिनुस् भने । त्यसपछि स्थानीयले प्रहरीलाई घटनाबारे जानकारी गराए । प्रहरी घटनास्थलमा पुग्दा चूडामणिले घटनास्थलमै आफ्नो अपराध स्वीकार गरेको दमक प्रहरी प्रमुख पण्डितले बताए ।

हत्या मुख्य कारण पारिवारिक बेमेल : प्रहरी

घटनाको भोलिपल्ट सोमबार अर्थात् आज बिहान हामीले घटनाका बारेमा थप जानकारी लिन इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पण्डितलाई भेट्यौँ । उनले यस घटनाको मुख्य कारण पारिवारिक बेमेल नै रहेको अभियुक्तले बयान दिएको बताएका छन् ।

आफू २२ बर्षजति विदेशमा बस्दा कमाएको पैसा हिनामिना गरेको र परपुरुषसँग बढी हिमचिम बढाएको देखेपछि आफूले आवेगमा आएर श्रीमतीको हत्या गरेको चूडामणिले स्वीकार गरेको प्रहरी प्रमुख पण्डितले बताए । उनलाई म्याद थपका लागि आज झापा जिल्ला अदालत लगिएको पण्डितले जानकारी दिए ।