धरान : उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए ।

विक नेत्रविक्रम चन्द समूहका उदयपुर जिल्ला सदस्य र देवकोटा उक्त समूहका जिल्ला सल्लाहकार तथा उदयपुर जिल्लाकै लिम्चुङबुङ गाउँपालिकाको इन्चार्ज रहेको खुल्न आएको उदयपुर प्रहरीले बताएको छ ।

पाँच दिनअघि रातिको समयमा ताप्ली गाउँपालिकाको कार्यालयभित्र प्रमुख प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत र उपाध्यक्षको कार्यकक्षमा क्षति पुग्ने गरी बम विस्फोट गराएको थियो । विस्फोट भएको बम सुतली बम रहेको प्रहरीले बताएको छ ।

दुई जनालाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको उदयपुर प्रहरी प्रमुख दाहालले बताए ।