धरान : २०७६ मङ्सिर १४ मा सम्पन्न उपनिर्वाचनमा कम्युनिस्टको गढ मानिएको धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसले सानदार जित हासिल गरेको थियो ।
काँग्रेसका उम्मेदवार तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गरे । जुन नेपाली काँग्रेसको लागी ऐतिहासिक जित बन्यो । काङ्ग्रेसबाट विजयी भएका तिलकले २६ हजार ७ सय ९ मत ल्याउँदा नेकपाका प्रकाश राईको पक्षमा २३ हजार ९ सय १४ मत प्राप्त गरेको थिए ।

उनै तिलक ०७४ सालको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए । उपनिर्वाचनमा नेपाली काँग्रेस विजयी भएपछि नेकपा भित्र खैलाबैला मच्चिएको थियो भने काँग्रेसमा उत्साह र आशाको माहौल सृजना भएको थियो ।

कम्युनिस्टको गढ नै मानिएको धरानमा नेकपाको लज्जास्पद हारको पछाडि केही कारणहरू थिए ।

१. नेकपा भित्रको गुटबन्दी

नेकपाका उम्मेदवार प्रकाश राई पराजीति हुनुको प्रमुख कारण नेकपा भित्रको आफ्नै गुटबन्दी थियो। आन्तरिक गुटबन्दीको खेल तल्लो स्तर सम्म देखिएपछि त्यसले निर्वाचनमा प्रभाव पारेको हो । नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्यको निर्वाचन क्षेत्र समेत रहेको धरानमा पार्टी भित्र पनि उनले आफ्नो पक्षमा काम गरी रहेका थिए । लामो समय देखी सुनसरीको पार्टी राजनीतिमा हाबी भएका आचार्य पार्टी एकता पछि पनि आफ्नै पक्षमा सङ्गठन चलाइरहेका छन् ।

धरानको उपनिर्वाचनमा प्रकाश राईले टिकट पाए । आचार्यले आफ्नै पार्टीका कार्यकर्ता देखी नेतालाई पनि जिम्मेवारी दिन सकेनन् । प्रदेश सांसद देखी जिल्ला सदस्य सम्म भूमिका विहीन भए । पूर्व माओवादी केन्द्रका स्थानीय नेताहरू समेत भूमिका नपाएको भन्दै घरमै बसे । प्रदेश सांसद लिलम बस्नेत निर्वाचनको परिणाम भीम आचार्य निकट व्यक्तिहरूले गरेको चरम गुटबन्दीको नतिजा भएको बताउँछन् ।

जुन कुरा नेकपाले आयोजना गरेको वृहत् जनसभामा पनि देखिएको थियो । भीम आचार्य बोल्दै गर्दा सँगै पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपनेता सुवासचन्द्र नेम्वाङ्ग मध्ये प्रचण्डलाई मात्र आसन ग्रहण गराएका थिए । पछि हाल मिलाउने क्रममा पनि नेम्वाङ्गसंग हात पनि मिलाएनन् । यतीसम्म की पार्टीका जिल्ला स्तरका नेताहरूको आसन ग्रहण हुँदा समेत नेम्वाङ्गलाई आसन ग्रहण गराइएको थिएन ।

आचार्य निकट कार्यकर्ताको मात्र जिम्मेवारी पाएपछि ओली निकट कार्यकर्ताहरू भूमिका विहीन भए । जसले गर्दा अघिल्लो निर्वाचनमा भन्दा कम मत खस्नु र आफ्नै गढ मानिएका वडामा पनि नेकपालाई कम मत आएको थियो ।

२. काँग्रेस भित्रको एकता

२०७४ सालको निर्वाचनमा लज्जास्पद हार बेहोरेको काँग्रेसमा उपनिर्वाचनमा भने अभूतपूर्व एकता देखिएको थियो । जुन कुरा धरानमा काँग्रेसले पाएको सफलताबाटै प्रस्ट हुन्छ । नेकपा आन्तरिक समस्यामा रुमलिरहेको बेला काँग्रेसले मौकाको फाइदा उठायो । उम्मेदवार सिफारिस देखी नै एक देखिएको काँग्रेसले तिलक राईलाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्याे । सुजेन्द्र तामाङ र किशोर राई पनि उम्मेदवारको लागी आकाङ्क्षी  देखिएका थिए । तर पार्टी भित्र एकताको सन्देश दिन भन्दै दुवै जना पछि हटे ।

पार्टी एक भएर लागेपछि कार्यकतामा छुट्टै उत्साह देखियो । जसले गर्दा निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै गयो । काँग्रेसले उमेद्धवारीको नाम सिफारिस  भएदेखि नै घरदैलो सुरु गरेको थियो । नेकपा भन्दा २० दिन अगाडी देखी नै घरदैलोमा लागेको काँग्रेस हरेक जनताको घरमा पुग्यो । जतिबेला नेकपाले नाम समेत सिफारिस गर्न सकेको थिएन । घरदैलो सँगै अन्य सानादलहरु सँगको सहकार्यको रणनीति पनि बनाउँदै गयो । जसले निर्वाचन परिणाममा राम्रो सहयोग पुर्‍यायो ।

congress2 1

केन्द्रीय स्तरका नेताहरू महेश आचार्य र शेखर कोइरालाले धरानमै बसेर कार्यकर्ता परिचालन गर्ने काम गरे । अघिल्ला निर्वाचनमा दुई धारमा देखिने काँग्रेसी नेता कार्यकर्ताहरू एक हुनुले पनि कम्युनिस्टको गढ मानिएको धरानमा काँग्रेसले विजय हासिल गर्‍यो । 

३. उपमहानगरपालिकाले बढाएको कर

धरान उपमहानगरपालिकाले बढाएको कर पनि नेकपाले चुनावको नतिजा आफ्नो पोल्टामा पार्न सकेन । रिक्सा ट्याम्पो नवीकरण गरेबापत बढेको कर तथा अन्य करमा भएको अस्वाभाविक बृद्दीले धरान नगरवासी नेकपा प्रति असन्तुष्ट थिए । त्यतीमात्र हैन सुकुम्वासीलाई धनीपुर्जा दिन्छु भन्दै २०७४ भोट मागेको तत्कालीन माओवादीले नेकपा बनेपछि घर नम्बरको मासिक पैसा उठाउन थालेपछि सुकुम्वासीहरू झनै रुष्ट भए । पछि चुनावी अभियानमा काँग्रेसले अव्यवहारिक कर घटाउने बाचा गर्दै भोट मागेपछि सकुम्बासीको मत काँग्रेसलाई गएको थियो ।

ट्याम्पो र इ-रिक्सा चालक आफैले काँग्रेसले कर घटाउने भनेकोले भोट हाल्न अनुरोध गर्दै भोट मागेका थिए । हाल निर्वाचित मेयर राईले चुनावी अभियानमा गरेको बाचा पुरा गरेनन् भने नेकपाले पुन: आफ्नो बिरासत फर्काउने सम्भावना देखिएको छ ।

४. परिवर्तनको नारा

नेपाली काँग्रेसले सुरुदेखी नै परिवर्तनको नारा लगायो । परिवर्तनको पक्षमा धरान नगरवासी नारा दिएको काँग्रेसले २०४७ साले देखी निरन्तर कम्युनिस्टले जितेको धरानमा खानेपानीको अभाव र धरान उपमहानगरपालिका कार्यालय भित्र देखिएको बेथितिलाई एजेन्डा बनायो ।

स्थानीय तहका जनप्रतिनिधि सँग धराने जनताले आस गरे अनुसारको विकास, सुधार र सुविधा नपाएपछि धरानले विकल्प खोजेका हुन् । परिवर्तनको पक्षमा मत दिनुस् भन्ने काँग्रेसको नाराले धेरै धराने मतदातालाई प्रभावित पारेको थियो ।

तर अहिलेको काँग्रेसको अवस्था भने त्यही अनुपातमा कमजोर बन्दै गइरहेको छ । चुनावमा जिताउन लागी परेका स्थानीय कार्यकर्ता तथा नेताहरू आफै असन्तुष्ट बनेका छन् । तत्कालीन कार्यबहाक मेयरलाई लाग्ने गरेको जनता सँग नभेट्ने आरोप अहिले मेयर राई माथि लाग्न थालेको छ । जसको कारण काँग्रेसलाई पुनः साख जोगाउन गाह्रो हुने देखिएको छ ।

काँग्रेसले उठाएको परिवर्तनको एजेन्डाको पक्षमा मत हालेका मतदाताले परिवर्तनको आभास गर्न नपाएपछि काँग्रेसको लागी यो नै अन्तिम परिणाम नहोला भन्न सकिन्न ।