धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को धरान उपमहानगर कमिटिले सिफारिश गरेको उम्मेदवारको नामावलीमा प्रदेश कमिटिको पदाधिकारी बैठकले एक थप गरेर केन्द्रमा पठाएपछि नेकपाभित्र तीब्र गुटबन्दी शुरु भएको छ ।

हिजो शनिबार प्रदेशको पदाधिकारी बैठकले प्रदेश कमिटि सदस्य विजय राईको नाम थप गरेर ४ जना उम्मेदवार आकांक्षीको नाम पठाएपछि नेकपामा हलचलसँगै तीब्र गुटबन्दी शुरु भएको हो । धरान उपमहानगर कमिटिबाट जिल्ला सदस्यहरु प्रकाश राई, फोक्वाहाङ सुब्बा(चोत्लुङ) र वेणु काफ्लेलाई सिफारिश गरेको थियो । तर, प्रदेश कमिटिले विजय राईको पनि नाम थपेको थियो । उम्मेदवार प्रकरणले बिशेष गरी नेकपाको पुर्वएमाले खेमामा चरम असन्तुष्टी र गुटबन्दी जन्माएको छ । प्रदेश कमिटिको सिफारिशप्रतिको असन्तुष्टीलाई नेताहरुले व्यक्तिगत गालीगलौजमा पनि उत्रिएका छन् ।

नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले ‘एउटा झत्ते’ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उनले टाइमलाइनबाट यो पोष्ट हटाए पनि स्क्रिनसट म्यासेन्जरहरुमा भाइरल बनिरहेको छ । उनले प्रदेश कमिटि सदस्य विजय राईलाई लक्षित गरेर पोष्ट गरेको बुझ्न गाह्रो छैन । यसले पनि प्रदेश कमिटिको पदाधिकारी बैठकले गरेको सिफारिशप्रति पुर्वएमाले वृत्तमा कति असन्तुष्टी छ भन्ने प्रष्टै छ ।

अध्यक्ष सुवेदीको पोष्टको जवाफी शैलीमा ओली पक्षका मानिएका डम्बर गुरुंगले खिल्लीवादलाई प्रश्रय दिने काम कसैबाट नगर्न अपिल गरेका छन् । उनले फेसबुकमै लेखेका छन्,'यहाँ खिल्ली नै उडाउने हो भने कोहि पनि अछुतो रहदैन, हुँदा-हुँदा तपाई र मैले मानेको देवता पनि अछुतो रहदैन । हरेक व्यक्तिले, जो जुन क्षेत्रमा क्रियाशील छ, त्यो क्षेत्रको उचाइमा पुग्ने सपना देख्नु कुनै अपराध होइन । त्यसले किन सपना हेर्न पुग्यो ? भनेर रोइलो गर्ने, खिल्ली उडाउने कार्य न्यायोचित होइन ।'

नेकपा धरानका अध्यक्ष सुवेदीले जस्तो अन्य नेताहरुले खुलेरै असन्तुष्टी र विरोध त जनाएका छैनन्, तर भित्रभित्रै भुसको आगो जस्तो गरि नेताहरु बलिरहेका छन् । नेकपामा पनि पुर्वएमाले पक्षमा चरम असन्तुष्टी छ । यो उम्मेदवार प्रकरणले तत्काल नेकपा धरान क्षेत्रमा ३ गुटमा परिणत भएको देखिन्छ । पुर्वएमाले खेमाभित्र हिजोकै जस्तो माधवकुमार नेपाल र केपी शर्मा ओली गुट प्रष्टै देखिएको छ भने उम्मेदवार सिफारिश अघि गुटबन्दी देखिएको पुर्वमाओवादी खेमा भने तत्काल एकजुट भएको जस्तो देखिन्छ । उम्मेदवारको वलिया आकांक्षी भनिएको प्रदेश कमिटि सदस्य अइन्द्रबिक्रम बेघाले जिल्ला कमिटि सदस्य चोत्लुङलाई समर्थन गर्दै आफुहरु एक भएको सन्देश दिएका छन् ।

पुर्वएमालेमा किन असन्तुष्टी ?

पुर्वएमालेको धरान कमिटिमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको उपस्थिति अत्यन्त कमजोर थियो । पार्टी अधिवेशन हुदा दुई खेमा (ओली र नेपाल) बीच चुनाव हुदा ओली पक्षका उम्मेदवारहरुको नमिठो पराजय भएको थियो ।

एमाले र माओवादीबीच पार्टी एकीकरणपछि धरानमा १०१ सदस्यीय कमिटि बनेको छ । ती मध्ये ६१ सदस्य पुर्वएमालेका छन् । ती ६१ जना सदस्यमा एक जना पनि ओली पक्षका छैनन् । धरानमा पुर्वएमालेमा नेता माधव नेपाल पक्षको वलियो पकड छ । त्यसैले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली पक्षका भनिएका प्रदेश कमिटि सदस्य विजय राईको उम्मेदवार सिफारिश धरानबाट हुन नसकेको हो । सिफारिश नै नभएको उम्मेदवारलाई प्रदेशको पदाधिकारी बैठकले थपेर केन्द्रमा पठाएपछि यहाँ चरम असन्तुष्टी छाएको हो ।

टिकटमा कस्ले मार्ला बाजी ?

प्रदेश पदाधिकारी बैठकले ४ जनाको नाम केन्द्रमा पठाएपछि अब उम्मेदवारको टिकट कस्ले पाउला भन्ने चासो सर्वत्र छ । धरानबाट ३ जनाको नाम पठाए पनि प्रकाश राईले टिकट पाउने लगभग पक्का थियो । सिफारिश भएकामध्ये वेणु काफ्ले सरकारी विद्यालयकी शिक्षिका हुन् । उनी वलिया दाबेदार होइनन् ।
साविक माओवादीका चोत्लुङ सिफारिशमा परेपनि उनी निर्वाचन परिचालन कमिटिको सहसंयोजक जिम्मेवारीमा पनि बसेका छन् ।

निर्वाचन परिचालन कमिटिको जिम्मेवारीमा बसेकोले टिकट प्रकाश राईले नै पाउने अनुमान गर्न कठिन छैन । तर, प्रदेश कमिटिबाट विजय राईको पनि नाम सिफारिशमा परेपछि भने नेकपामा खैलाबैल्ला मच्चियो । केन्द्रीय नेताहरुसँग नजिक सम्बन्ध र पार्टी अध्यक्ष ओली खेमाका राईको नाम प्रदेश कमिटिले हाल्नुको अर्थ उनले टिकट पाउने पक्का भएको चर्चा पनि छ ।

यता, पुर्वएमाले पक्षको गुटको प्रभाव समग्र पार्टी र चुनावमा पनि पर्ने भन्दै पुर्वमाओवादी पक्ष भने टिकट चोत्लुङलाई दिनुपर्ने लविङमा छन् । अब प्रकाश राईले टिकट पाए ओली गुटले सहयोग नगर्ने र विजय राईले पाए नेपाल पक्षकाले सहयोग नगर्ने, अन्र्तघात हुने भन्दै पुर्वमाओवादी पक्ष चोत्लुङको लविङमा छन् । पुर्व माओवादी खेमा एकढिक्का भएको सन्देश दिदै चोत्लुङले टिकट पाए पुर्वएमालेको दुवै गुटलाई मिलाएर जित्ने प्रचारमा छ ।

नेकपाका पुर्वएमालेका नेताहरु भने हिजो एमालेले जितेको र सोही जितको निरन्तरता भएकोले टिकट पुर्वएमाले पक्षका उम्मेदवारले नै पाउने बताउँछन् । साथै, प्रदेशबाट विजय राईको सिफारिश भएपनि टिकट भने प्रकाश राईले नै पाउने उनीहरुको दाबी छ । विजय राई पार्टीकै कार्यकर्ता र मतदाताहरु माझ परिचित अनुहार नभएको र उनले पाए पुर्वएमाले पक्षबाट अन्र्तघात हुने प्रष्ट भएकोले पनि नेतृत्वले टिकट उनलाई नदिने उनीहरुको दाबी छ । तर, ओली पक्षका नेताहरु भने व्यक्तिले चुनाव लड्ने नभै पार्टीले चुनाव लड्ने भएकोले जसले टिकट पाए पनि फरक नपर्ने बताउदै आएका छन् ।