झापा : अनेरास्ववियू झापाको एकता घोषणा सँगै विवाद सुरु भएको छ ।

नेकपाको भातृ सङ्गठन अनेरास्ववियू झापामा एकता पछिको नयाँ कमिटी घोषणासँगै व्यापक असन्तुष्टि रहेको छताछुल्ल भएको छ ।

नेकपाको केन्द्रमा देखिएको विवादले झापाको विद्यार्थी राजनीतिमा समेत प्रभाव पारेको छ। प्रचण्ड-नेपाल समूहले एकलौटी कमिटी घोषणा गरेकोमा जिल्लाभरका विद्यार्थीहरूले असहमति जनाएका छन् । प्रचण्ड समूहका केही विद्यार्थी नेताले समेत कमिटी घोषणामा आपत्ति जनाउन थालेका छन् ।

विद्यार्थी नेता सन्दीप प्रसाईँले चिया पसलमा बसेर गरेको निर्णय मान्य नहुने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले चिया पसलमा गरेको निर्णय मान्य नहुने बताउँदै आफ्नो अनुकूलतामा कमिटी घोषणा गरेको आरोप लगाएका छन् ।

यस्तै, विद्यार्थी पूजा खुसीले जिल्लाको कमिटी घोषणामा असन्तुष्टि व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमै लेखेकी छन्,'झापा जिल्लाको सबैभन्दा अन्यायपूर्ण निर्णय'। मेची क्याम्पसका विद्यार्थी नेता अशोक खतिवडाले चरम गुटबन्दीबाट ग्रस्त समूहले आफू खुसी घोषणा गरेको नयाँ कमिटी अस्वीकार गर्ने बताएका छन् ।

सर्कुलरमा सङ्गठनका केन्द्रीय सदस्य, साबिक पार्टीका दुई प्रतिनिधि र संयोजक , सह संयोजकको छलफलले सहमतिमा कमिटी टुङ्गो लगाउने व्यवस्था गरेको थियो । सोही अनुसार पार्टीका प्रतिनिधि शिव ढुङ्गेल, युवराज दाहाल सहित विद्यार्थीका प्रतिनिधि बिच एक चरण छलफल भएको थियो ।

पहिलो छलफलमै पुनः बैठक बसेर मात्रै कमिटी टुङ्गो लगाउने सहमति भए पनि अर्को बैठक नै नबसी कमिटी घोषणा गरिएको छ । अनेरास्ववियू झापाका पूर्व अध्यक्ष एवम् केन्द्रीय मनोज ताम्ली लिम्बुले नेतृत्व गरेका विद्यार्थीहरूलाई नयाँ कमिटीमा ‘बाइपास’ गरिएको बताइएको छ ।