इटहरी : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी हिउँदे अधिवेशनले प्रदेश १ को नाम टुङ्गो लगाउने बताएका छन् ।

इटहरीमा १५ शैय्याको अस्पताल शिलान्यास गर्न पुगेका राईले हिउँदे अधिवेशनको पहिलो प्रस्ताव नै नामाङ्कनको विषय हुने बताएका हुन् ।

प्रदेश, स्थानीय र सङ्घीय सरकार विकास निर्माणमा दत्तचित्त भएर लागिपरेको बताउँदै उनले अब समृद्धिको युग सुरु भएको प्रस्ट पारे । अबको समय स्मार्ट र अर्ग्यानिक सिटिको भएको हुनाले प्रदेश सरकार त्यहीँ अवधारणा अनुसार अगाडि बढेको उनको भनाइ छ ।

प्रदेश १ को राजधानी इटहरीलाई बनाउन नसकेको स्मरण गर्दै उनले भने, "इटहरीलाई प्रदेशको राजधानी बनाउने चाहना राखेका थियौ । तर सकेनौँ । अब प्रदेशको राजधानी सँग जोडिने पालिकामै प्रदेशका संरचनाहरू बनाउने तयारी गरेका छौँ ।"

सोही कार्यक्रममा बोल्दै प्रदेश सांसद सर्वध्वज सावाले आफूले बोलेजती काम गर्न नसकेको बताए । चुनावको बेला २ सय शैय्याको अस्पताल बनाउने भनेपनी ठाउँको अभावमा काम हुन नसकेको उनको भनाइ छ ।

"चुनावमा काँग्रेसले १ सय शैय्याको अस्पताल बनाउँछु भन्यो अनि नेकपाले किन कम बोल्नु भनेर २ सय शैय्याको भन्यौ ।, उनले भने, तर यसो बुझ्दै जाँदा काम गर्न निक्कै गाह्रो रहेछ ।

नढाँटी भन्ने हो भने नेताले जनतालाई ढाटेकै हो । त्यहीँ भएर जनतामा निराशा बढेको हो ।"