धरान : नाटककार सुवास अधिकारीको नाटक ‘नो सिग्नल’को आइतबार विमोचन गरिएको छ । 
विमोचनको अवसरमा भएको परिचर्चामा उपप्राध्यापक राजेश विद्रोहीले कृतिको पाठकीय दृष्टिकोण प्रस्तुत गर्दै विज्ञान र प्रविधिले जति नै फड्को मारे पनि मानवीय सम्बन्धको आवश्यकता कहिल्यै समाप्त नहुने सन्देश नाटकले दिएको बताए ।
‘नो सिग्नल’ न्यून पात्र र सीमित मञ्चीय संरचनामा प्रस्तुत गर्न सकिने सशक्त नाटक भएको बताउँदै विद्रोहीले भने ‘नाटकमा चार मुख्य पात्र र दुई मञ्चीय पात्र छन् भने सम्पूर्ण कथा एउटै सेटमा प्रस्तुत गर्न सकिने गरी संरचित गरिएको छ ।’
विमोचन तथा परिचर्चा धरान रिडर्स ग्रुपको आयोजनामा भएको हो । कार्यक्रममा शिल्पी थिएटर, काठमाडौँका निर्देशक घिमिरे युवराजले नाटकको समालोचनात्मक समीक्षा प्रस्तुत गरे । 
उनले नाटकका पात्रहरूले ‘रेन्डम्ली’ डायल गरेका फोनहरू वास्तवमा मानिसको जीवनमा आउने अदृश्य संयोगका प्रतीक भएको बताए । नाटककारले एउटा कोठाभित्रै पुँजीवादले निर्माण गरेको मध्यम वर्गीय समाजको मनोविज्ञान र परिस्थितिलाई प्रभावकारी रूपमा चित्रण गर्न सफल भएको उनको भनाइ थियो ।
धरान रिडर्स ग्रुपका अध्यक्ष रञ्जु लामाको अध्यक्षतामा भएको परिचर्चामा सहभागीहरूले ‘नो सिग्नल’ ले आधुनिक जीवनशैली, एक्लोपन, सम्बन्धको सङ्कट र मानवीय संवेदनालाई नाटकीय भाषामार्फत गहिरोसँग प्रस्तुत गरेको धारणा व्यक्त गरेका थिए ।