धरान : धरानमा रोकिएको छः वर्ष पछि मेयर कप तेस्रो स्कुल ओलम्पिक प्रतियोगिता आज शनिवार देखी प्रारम्भ भएको छ । धरान रङ्गशालामा आयोजित मिनी ओलम्पिक समारोहका बिच कोशी प्रदेशसभा सदस्य विजय राईले प्रतियोगिताको उद्घाटन गरे । 

सांसद राईले धरान खेलकुद मञ्चको आयोजनामा सुरु भएको प्रतियोगिताले विद्यार्थीको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले धरान रङ्गशालालाई प्यारापिट सहित व्यवस्थित बनाउन प्रदेश सरकारले आवश्यक लगानी गर्ने बताएका छन् ।
धरानका पूर्व मेयर तिलक राईले खेलकुद प्रतियोगिताको प्रभावकारी व्यवस्थापनले विद्यार्थी, प्रशिक्षक र व्यवस्थापक सबैलाई लाभ पुग्ने बताए । धरानको समग्र विकास तथा खेलकुद क्षेत्रको प्रवर्द्धनमा प्यासन एनप्याब्सन सदस्यहरूको सक्रिय सहभागिता र योगदानको उनले प्रशंसा गरे ।
धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले खेलकुद र शिक्षालाई एक अर्काको पूरकका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । विद्यार्थीको बहु आयामिक व्यक्तित्व विकासका लागि शिक्षासँगै खेलकुद अपरिहार्य रहेको उनको भनाइ थियो ।
प्रतियोगिताले बाल्यकाल देखी नै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि नेपाली खेलाडी तयार गर्ने, ओलम्पिक चार्टरबारे जानकार बन्ने तथा भविष्यमा व्यावसायिक खेलाडी बन्ने मार्ग निर्देशन दिने उनले बताए ।
ओलम्पिकको कुल १० खेलमा प्रतिस्पर्धा गर्ने विद्यार्थीहरूलाई कुल ५२४ पदक वितरण गरिने छ । त्यसमा स्वर्ण पदक १३१ वटा, रजत पदक १३१ वटा र कास्य पदक २६२ वटा रहने बताइएको छ । 
स्कुल ओलम्पिक धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम अनुसार सञ्चालन गरिएको हो । प्रतियोगितामा प्राविधिक तथा व्यवस्थापकीय केही कमजोरी रहे पनि २०८३ मंसिरमा चौथो संस्करण व्यवस्थित र प्रभावकारी रूपमा आयोजना गरिने अध्यक्ष राईले बताए ।
आज देखी प्रारम्भ स्कुल ओलम्पिक असार २० गते सम्म सञ्चालन हुनेछ ।ओलम्पिकमा फुटबल, क्रिकेट,भलिबल, सितेरियो कराते, तेक्वान्दो, बास्केटबल, टेबल टेनिस, सेपाक ताक्रो,उसु र ब्याडमिन्टन समावेश रहेको बताइएको छ।प्रतियोगितामा धरानभरका निजी तथा सामुदायिक स्कुलहरू सहभागी छन् ।
school-olympic
school-123