बराहक्षेत्र : महुली लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बाङ्गे बजारले संस्थाको सदस्य मृत्यु दाबी बिमा रकम प्रदान गरेको छ । बराहक्षेत्र नगरपालिका वडा नं ७ बेलाह घर भएका संस्थाको सदस्यको मृत्यु पश्चात् उनको परिवारलाई घरमै पुगेर बिमा रकम प्रदान गरेको हो ।
महुली लघुवित्त वित्तीयबाट बिर्ख बहादुर विष्टले संस्थाबाट ६  लाख रुपैयाँ कर्जा लिएका थिए । बिचमै विष्टको निधन हुन पुगेको थियो । मृत्यु पश्चार  संस्थाको नियम अनुसार विष्टको परिवारले मृत्यु दाबी बिमा बापतको ६ लाख र अन्तिम संस्कार खर्च बापत १९ हजार ९ सय ९० रुपैयाँ प्राप्त गरेको छ ।
बिमा रकम हस्तान्तरण बराहक्षेत्र नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष कपिल आचार्य , महुली लघुवित्त संस्थाका अनु पालन तथा जोखिम व्यवस्थापनका विभागका प्रमुख हरि प्रसाद कोईरला,बाङ्गे शाखा प्रमुख मदन अधिकारी,चतरा कलस्टर प्रमुख हेमराज दाहालले मृतकका श्रीमती चन्द्र देवी विष्टलाई चेक हस्तान्तरण गरेका हुन् । 
शनिवार घरमै पुगेर श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दै बिमा बापतको रकम र राहत बराबरको रकमको चेक हस्तान्तरण संस्थाले गरेको हो ।
सो क्रममा बोल्दै वडाध्यक्ष आचार्यले बैङ्क तथा वित्तीय संस्था हाम्रो समाज तथा जीवनको अभिन्न अङ्ग भएको बताउँदै यसले हाम्रो जीवनस्तर माथि उकास्न र समाजको विकास गर्न टेवा पुर्‍याएको बताए ।
लघुवित्त वित्तीय संस्था जनताको बचत र बैङ्कको कर्जाबाट सञ्चालन हुने तथा बैङ्क तथा वित्तीय संस्थाको नियमानुसार जनताको बचतको सुरक्षा गरी पुँजी निर्माण गरेर जनताकै लागि विभिन्न पेशा, व्यापार व्यवसायमा लगानी गर्ने भएकोले बैङ्क तथा वित्तीय संस्था प्रति सबै इमानदार बन्नुपर्ने वडाध्यक्ष आचार्यले बताए ।