धरान : प्रदेश १ का विभिन्न स्थानहरूमा सोमवार भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । सोमबार बिहान सवा ८ बजे मोरङको ग्रामथान गाउँपालिका-१ मा को १ त ८८१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्याक्टरका सहचालक बुढिगंगा गाउँपालिका-१ का ४० वर्षीय गुरुचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको हो ।

मोरङकै विराटनगर महानगरपालिका-९ मा सोमवार दिउँसो साँढे ४ बजे मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । को १२ प ३६५ नम्बरको मोटरसाइकल बुद्ध चोकमा अचानक दुर्घटना हुँदा मोटरसाइकलमा सवार रहेकी विराटनगर-१५ की ६० वर्षीय मनकामना झा घाइते भएकी थिइन । घाइतेलाई उपचारको लागी न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको थियो ।

यस्तै झापाको दमक नगरपालिका-४ तारावारीमा सोमवार दिउँसो सवा १ बजे मे १ त ६१९६ नम्बरको ट्याक्टरले स्थानीय तुलसी धिमालको ८ वर्षीय छोरा जेनिस धिमाललाई ठक्कर दिँदा बालक घाइते भएका थिए । घाइते भएका बालकलाई उपचारको लागी अरनिको अस्पताल लगी उपचार भइरहेकोमा उपचारको क्रममा साँढे १ बजे बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

इलामको फाकफोकथुम गाउँपालिका-५ थुम्का भिरमा तरकारी बोकेको पिकअप दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

सोमवार बेलुका साँढे ५ बजेको समयमा पाँचथरको रविबाट तरकारी बोकेर इलाम जाँदै गरेको को २ च १५ नम्बरको पिकअप आफै अनियन्त्रित भई थुम्का भिरबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा माई नगरपालिका-९ का ४० वर्षीय दिनेश लिम्बु र इलाम नगरपालिका-११ का ३० वर्षीय नवीन तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।