धरान : धरान उपमहानगरपालिकाले आचरण विपरीत कार्य गर्ने तीन जना नगर प्रहरीलाई अवकाश दिने निर्णय गरेको छ ।

कार्तिक अन्तिममा भएको निर्णय अनुसार उनीहरूले नगर प्रहरी भएर नगर प्रहरीको आचरण, मान मर्यादा भित्र रहेर काम गर्नुको साटो आचरण विपरीत काम गरेकोले उनीहरूलाई अवकाश दिने निर्णय भएको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडाले बताए ।

कारबाहीमा पर्नेमा एक जना असई र २ जना नगर प्रहरी जवान रहेका छन् । करार सेवामा रहेका उनीहरूलाई धरान उपमहानगरपालिकाले मङ्सिर मसान्त देखि जागिरबाट अवकाश दिएको जनाएको छ ।

उनीहरूले धरान १४ को पञ्चकन्या जङ्गल निरीक्षण गर्न पठाएको बेला घुम्न आएका जोडीको फोटो खिचेर बार्गेनिङ गरेको उजुरी समेत उपमहानगरपालिकामा परेको थियो । उनीहरूले फोटो खिचेर आफूहरूलाई पैसामा बार्गेनिङ गरेको उजुरी परेको अधिकृत खतिवडाले बताए ।

उनीहरूले आचरण विपरीत काम गरेको पाइए पछि ‘पटक पटक सचेत गरायौँ, चेतावनी दियौँ, र स्पष्टीकरण सोधियो तर पनि आचरणमा सुधार नआएपछि मङ्सिर मसान्त देखि ३ जनालाई अवकाश दिइएको हो ।’

कारबाहीमा पर्नेमा तीनै जना पुरुष छन् । ड्युटीमा खटाएको बेला सम्झाई बुझाइ गर्नुपर्नेमा कुटपिट गरिदिएर अनावश्यक विवाद सिर्जना गर्ने, बिहान ६ बजे पिटीमा उपस्थित हुनुपर्नेमा नआउने, निर्देशन पालना नगर्ने लगायतका अनुशासन र मर्यादा विपरीत कार्यहरू गर्ने गरेको बताइएको छ ।

यही कारणले उनीहरूलाई मङ्सिर मसान्त देखि अवकाश दिने धरान उपमहानगरपालिकाले निर्णय गरेको जनाएको छ ।