नेकपाको ओली नेतृत्वको सरकारले गरेको संविधान विपरीत संसद विघटनको यो घट्नाले ५ वर्ष सरकार चलाऊ भनेर जनताले दिएको जनादेशको अपमान मात्र होइन असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवाद तिर उन्मुख भएको कम्युनिस्ट (नेकपा) ले आफ्नो गतिलो परिचय दिएको छ।

आज यो देशको बागडोर समालिरहेको नेतृत्वले गरेको निर्णयको राजनैतिक परिवेशले मिडियामा सञ्चार माध्यम र सामाजिक सञ्जालका भित्ता भरिएका मात्र छैनन् हरेक नेपाली मानमा अब के हुन्छ ?, प्रतिपक्ष कसरी प्रस्तुत भएर अगाडी बढ्छ ? भन्ने विषयले चर्चा चुलिएको छ।

ओली नेतृत्वको सरकारका कार्यशैलीहरू निहाली रहँदा सत्तापक्ष पनि, प्रतिपक्षी पनि आफै भएको देखिन्थ्यो। कसैले हल्लाउन नसक्ने तिम्रो दुइ तिहाई बहुमतको सरकारलाई प्रतिपक्षी नेपाली काङ्ग्रेसले कुनै अवरोध गरेन र दिएन तर तिमीहरूलाई जनताका नेता भन्ने हेक्का रहेन पदको मोहमा आफू आफै जुधेर जुन निर्णय गर्‍यौ त्यो संविधान माथिको ठुलो प्रहार हो।

यो कोरोनाको कहरले जनता जीवन-मरणको दोसाँधमा छट्पटाईरहेको बेला तिमिहरूको गृह कलहले मुलुकलाई ठुलो भड्खालोमा पारेको छ। यस कारण यो सरकारको अवधिभर स्थानीयस्तर देखि माथिल्लो निकाय सम्मकै कार्यशैली र गतिविधि नियाल्दा भ्रष्टाचार, बेथितिले चरम सिमा त नाघ्यो नै यो संसद विघटनको निर्णय सँगै यावत गतिविधिले झन् कम्युनिस्टले देश हाँक्न सक्दैन भन्ने गहिरो आशङ्का जनता माझ छर्लङ्ग्याएको छ।

इतिहासलाई हेर्ने हो भने हरेक परिवर्तनको नेतृत्व नेपाली काङ्ग्रेसले गरेको छ त्यसैले अब फेरि नेपाली काङ्ग्रेसको काँधमा एउटा ऐतिहासिक जिम्मेवारी आइपरेको छ। यो देशका जनताको निम्ति, राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता र संविधानको रक्षाका निम्ति अब भने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस यो देशको दह्रो मियो भएर उभिने दिन आएको छ।

त्यसैले यो चुनौती नेपाली काङ्ग्रेसको निम्ति समस्या मात्र होइन जनतामाझ अरू नजिकबाट नेपाली काङ्ग्रेस मात्र यस्तो लोकतान्त्रिक पार्टि हो भनेर चिनाउने अवसर पनि हो। त्यसैले अब व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनता को निम्ति, पार्टीपङतिको नेतृत्वमा रहनु भएका नेतृत्वले बढो बुद्दीमत्तापुर्वक बृहत् आन्तरिक छलफलबाट एउटा गतिलो निर्णय लिएर सुझबुझका साथ एकजुट भएर अगाडी बढ्नु पर्दछ ।