झापा : झापामा पछिल्लो समय मोटरसाइकल चोरी गर्न डेरा लिएर एउटा गिरोह सक्रिय रहेको खुलेको छ ।

यही क्रममा झापामा मोटरसाइकल चोरीमा संलग्न सात जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले सार्वजनिक गरेको छ । १५ वटा मोटरसाइकल र एउटा स्कुटर सहित उनीहरूलाई सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीले आज बिहान पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चोरीमा संलग्नहरूलाई सार्वजनिक गरेको हो ।

प्रहरीले बिर्तामोड क्षेत्रमा मोटरसाइकल चोरीको पेशानै बनाएका इलाम माई नगरपालिकाका पाँच सहित सात जनालाई पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले इलामबाटै पक्राउ गरेको डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा माई नगरपालिका-६ का मनिष गिरी, रोशन गिरी, राजेश गिरी, वडा नं. २ का रोशन तामाङ, पाँचथर फाल्गुनन्द-३ का क्षितिज भनिने रोशन तामाङ र माई नपा वडा नं. ८ का रोशन बुढाथोकी, ताप्लेजुङका सन्दीप लिम्बु र रहेका छन् ।

बुढाथोकी र तामाङले चोरी गरिएका मोटरसाइकल बिक्री गर्ने काम गर्थे भने अन्यले बिर्तामोडबाट चोरी गरेर पुर्‍याइदिन्थे। बेलुका ६ देखि ९ बजेसम्म अधिकांश मोटरसाइकल चोरी भएको प्रहरीको भनाई छ ।

चोरी पछि इलाम पुर्‍याइएका मोटरसाइकल प्रहरीले बिर्तामोड ल्याएको छ । उनीहरूको साथबाट अपाची, पल्सर र एउटा स्कुटर बरामद गरी ल्याइएको प्रहरीले बताएको छ । बिर्तामोडमा डेरा गरी बस्दै आएका युवाले मोटरसाइकल चोरीलाई धन्दा नै बनाएको अनुसन्धानबाट खुलेको छ ।

बिर्तामोडमा डेरा बस्नुको कारण नै मोटरसाइकल चोरी गर्नु देखिएको प्रहरीको भनाई छ । मोटरसाइकल खोजीका लागि बिर्तामोड प्रहरीले प्रहरी निरीक्षक हरी बरालको नेतृत्वमा टोली परिचालन गरेको थियो ।

केही वेरमै चोरी गर्न सक्ने गिरोहले बिर्तामोडका अस्पताल, विद्यालय, मार्केट, होटलमा पार्किङ गरी राखिएका मोटरसाइकल चोरी गरेको देखिन्छ ।