धरान : धरान-१२ स्थित एनआइसी एसिया बैकको शाखा कार्यालयमा रहेको एटिएम चोरी गर्ने सुभान मन्सुरी पक्राउ परेपछि प्रहरीमा अहिले श्रृङखलावद्ध चोरीका उजुरी आउन थालेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मन्सुरीले गत वर्ष ३५ हजार नगद र सुन चाँदीका गरगहना चोरी गरेर फरार भएको र कतारको ३७ रियल चोरी गरेको समेत प्रहरीमा उजुरी परेको सुनसरीका प्रहरी प्रमुख कमल थापाले बताए ।

थापाका अनुसार उनले चाँबी मिलाएर बाइक चोरी गरेको, पकेटमार जस्ता मौखिक उजुरीहरू पनि प्रहरीमा आइरहेका छन् । चोरीमा उनी मात्रै नभएर उनको एक समूह पनि सक्रिय रहेको खुलेको छ ।

पक्राउ परेका २३ वर्षीय मन्सुरी कोसी गाउँपालिका-३ कटान क्षेत्र जुद्धगञ्ज बस्ने हुन। उनी लागुऔषध प्रयोगकर्ता रहेको र प्लम्बिङको काम गर्दै आएको खुलेको छ ।

शनिवार राति एटिएम चोरी गर्दै गर्दा स्थानीयले देखेपछि उनी भागेका थिए। फरार रहेका सुभानलाई सिसिटिभी फुटेजको आधारमा सोमबार प्रहरीले घोपा क्यामबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सुभानलाई जिल्ला अदालत सुनसरीबाट चोरी उद्योग मुद्दामा १० दिनको म्याद थप गरेर थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।