धरान : धरानको रत्न चौकमा रहेको गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले घोषणा गरेको वीर गोर्खा र नवप्रतिभा पत्रकारिता पुरस्कारको राशि वृद्धि गरेको छ ।

धरान १८ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारिता पुरस्कार स्थापना गरेका थियो । पत्रकारिता पुरस्कार स्थापना गरेको एक महिना नबित्दै पुनः शुक्रवार पुरस्कार राशि थप भएको गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले जानकारी गराएको छ ।

गोर्खा भर्तीको नाममा ठगी गर्ने दलालहरूको भण्डाफोर गर्ने उद्देश्यले स्थापना गरिएको वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कारको राशि वृद्धि भएको हो ।

वीर गोर्खा पत्रकारिता पुरस्कारको राशि नगद २० हजारबाट ५० हजार रुपैयाँ र वीर नवप्रतिभा पत्रकारिता पुरस्कारको नगद १५ हजारबाट २० हजार रुपैयाँ पुर्‍याएको छ ।

सेन्टरका प्रबन्ध निर्देशक प्रेम मुकारुङ राईले वीर गोर्खा पत्रकारिता पुरस्कारको राशिमा ३० हजार रुपैयाँ र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कारमा ५ हजार रुपैयाँ थप गरिएको जानकारी दिए । उनका अनुसार ब्रिटिस आर्मीका कर्पोरल मण्डल थेवेले ३० हजार रुपैयाँ र बहराइन आर्मी मबिन राईले ५ हजार रुपैयाँ थप गरेका हुन।

गोर्खा भर्तीमा लगाइदिने भन्दै सोझासाझा युवाहरूलाई ठगी गर्नेहरू विरुद्ध कलम चलाउने, ब्रिटिस आर्मी र सिंगापुर पुलिसको निःशुल्क, निष्पक्ष र पारदर्शी छनौट प्रक्रियाबारे कलम चलाउने, गोर्खाको इतिहास, वर्तमान, देश निर्माणमा गोर्खाहरूले पुर्‍याएको योगदान एवं गोर्खाहरूको सामाजिक क्षेत्रमा सक्रियतालाई उजागर गर्न कलम चलाउने पत्रकारहरूको सम्मान स्वरुप पत्रकारिता पुरस्कार स्थापना गरिएको राईले बताए ।

प्रेस युनियन धरान समितिसँग सहकार्य गरेर दुवै विधाका पत्रकारिता पुरस्कार हरेक वर्षको पहिलो दिन नेपाली नयाँ वर्षमा दुई जना पत्रकारलाई दिइनेछ ।