इटहरी : इटहरीको मुख्य चौक आसपासमा सरसफाइ गरेर सामाजिक चर्चा र प्रशंसा कमाएको बुल्स इलेभेन क्लबले पुनः सरसफाइ अभियान थालेको छ। कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विगत एक वर्षयता अभियानलाई निरन्तरता दिन नसकेको क्लबले शनिवार बिहानबाट अभियान पुन: सुचारु गरेको क्लबका अध्यक्ष पूर्ण राईले बताए ।

सरसफाइ अभियानमा सक्रिय रहेका दुई दर्जन युवाहरूको समूहले आज शनिवार मुख्य बजारको गोलो चोकमा रहेको बगैँचा अर्थात् पूर्वपश्चिम राजमार्ग र कोसी राजमार्गको दिशा छुट्ट्याउने संरचनाको सफाइ गरेर आकर्षक बनाएका छन् ।

यसअघि पनि क्लबले सो संरचनाको सरसफाइ गरेको थियो भने चुनावका बेला चोकमा टाँगिएका तुल, ब्यानर र टाँसिएका पर्चा हटाएर रंगरोगन गरेका थिए । उनीहरूले इटहरी क्षेत्रमा भएका आगलागी नियन्त्रणमा प्रहरी र नेपाली सेनालाई प्राविधिक सहयोग समेत गरेर चर्चा कमाएका थिए ।

कोरोना भाइरस सङ्क्रमण महामारीका कारण विगत एक वर्ष सरसफाइ अभियानलाई निरन्तरता दिन नसके पनि शनिवारबाट पुन: सुरु भएको अभियान अब निरन्तर जारी रहने क्लबका अध्यक्ष राईले बताए । केही बर्षअघि क्लबमा आबद्ध युवाहरूले इटहरीको प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा भएको झाडी सफाइ गरेर त्यसको रूप परिवर्तन गरिदिएका थिए । यस्तै मुख्यचौक देखी उत्तरतिर रहेको नेपाल बैङ्क अगाडिको खुला ठाउँलाई व्यवस्थित बनाएका थिए ।

प्रत्येक साताको शनिवार फोहोर सँग खेलिरहने क्लबमा आबद्ध व्यक्तिहरूमा सबै जोशिला युवाहरू रहेका छन् । ती युवा समूह आबद्ध भएको 'बुल्स इलेभेन' क्लब २०५५ सालमा स्थापना भएको हो । फुटबल खेल प्रेमी पूर्ण राई लगायतले क्लबको सुरुवात गरेका थिए ।

इटहरीमा यसभन्दा अघि पनि बेला बेला नागरिक स्तरमा सफाइ हुने गरे पनि त्यसले निरन्तरता पाउन नसकेको अवस्थामा बुल्स एलेभेन क्लबको कामलाई बिर्सन नसकिने इटहरीका नागरिक अगुवाहरूको बुझाइ छ ।