इनरुवा : सुनसरी सदरमुकाम इनरुवामा उराँव समुदायले आफ्नो महान् पर्व करम पूजा हर्षोल्लासका साथ मनाएका छन् ।

सोमबार उराँव समुदायहरूले आफ्नो महान् पर्व करम पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका हुन् । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान सुनसरी इनरुवाको आयोजनामा करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सुनसरीका उराँवहरुले एक आपसमा शुभकामना साटासाट गरी र सांस्कृतिक कार्यक्रम र जमरा लगाएर करम पूजा सम्पन्न गरेका छन् । उराँव पुरुषहरू धोती, गम्छाको पगरी र आफ्नै पहिरनमा र महिलाहरूले रातो र सेतो सारी सहित सजिएर प्रतिष्ठानको भवन तथा संग्राहलयको मैदानमा करम पूर्व सन्ध्या कार्यक्रममा सहभागी भएका थिए ।

उराँवहरुको महान् पर्वको बारेमा सन्देश दिने, भाषाको संरक्षण गर्ने र मौलिकता प्रदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले बताए ।

विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरी मनाइने करम पूजाले उराँवहरुलाई जोड्ने भएकाले पूर्व सन्ध्या कार्यक्रम गरेको प्रतिष्ठानका सल्लाहकार नुनुलाल उराँवले बताए । सहभागीहरूले उराँवहरुको हक, अधिकार र पहिचानका लागि सबैको तर्फबाट सबै खालका सहयोग आवश्यक रहेकोमा जोड दिए ।

यसैबिच करम पर्वको अवसरमा सुनसरी सदरमुकाम इनरुवा नगरपालिका सहित कोसी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकाले सोमबार सार्वजनिक बिदा समेत दिएको थियो ।

सुनसरीको १२ पालिका मध्ये उराँवहरुको बढी बसोबास रहेको इनरुवा नगरपालिका सहित तीन गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएकाले प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले धन्यवाद ज्ञापन गरे ।

यसैबिच उराँवहरुले करम राखेको दिनदेखि नै दैनिक अखडा(मञ्च) मा आफ्नो पहिरन सहित नाचगान गर्ने, प्रवचन भन्ने लगायतका कार्यक्रम गर्दै करम पूजा गरिरहेको उराँव समुदायका शिक्षक सम्पतलाल उराँवले बताए ।

करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल, गीत नृत्य, पहिरन, बाजागाजा, मौलिक हातहतियार, कृषि औजार, जीविकोपार्जन गर्ने सामग्री(माछा मार्ने जाल, भाँडो, खुर्पी, कोदालो, हलो) सहितको प्रदर्शन गरिएको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सचिव रामलाल उराँवले बताए ।

प्रतिष्ठानका सल्लाहकार जयकुमार उराँवले करम पूजा उराँव जातीको मुख्य चाड रहेकाले अहिलेका पुस्ता र पुराना पुस्ताहरू बिचमा रहेको पुस्तान्तरणलाई समेत एक ठाउँमा ल्याएर वर्तमानमा विगतका परम्पराहरूलाई संरक्षण गर्ने गरी करम पूजा कार्यक्रम गरिएको बताए ।

करम पूर्व सन्ध्या कार्यक्रममा इनरुवा नगर उपप्रमुख जमुना गौतम पोखरेल, इनरुवा २ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव, इनरुवा ५ का वडा अध्यक्ष अन्जनी पोखरेल सहित विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधिहरू र उराँव समुदायका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।