धरान : मदन पुरस्कार गुठीको साधारण सभाले 'लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह संवत् १७१९-२०२०' पुस्तकका लागि लेखक एवम् अन्वेषक भगिराज इङ्नामलाई २०७७ को मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

नेपालको इतिहासका प्राथमिक सामग्रीहरूको सङ्कलन र पहुँचलाई विस्तार गरेकाले उनको पुस्तक पुरस्कृत भएको गुठीले जनाएको छ।

मदन पुरस्कार गुठीले नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बा श्री पुरस्कार प्रदान गर्ने पनि निर्णय गरेको छ। दुवै पुरस्कारको राशि चार लाख रुपैयाँ र सम्मान पत्र रहेको छ ।

गुठीले बिहीबार एक विज्ञप्ति जारी गरी ‘नेपाली इतिहासका प्राथमिक सामग्रीहरूको सङ्कलन र पहुँचलाई विस्तार गरेकाले यस पुस्तकका लागि इङ्नामलाई यो पुरस्कार अर्पण गरिन्छ,’ भनिएको छ ।

यस वर्षका लागि मदन पुरस्कारका लागि गुठीमा कुल २२२ पुस्तकहरू परेका थिए । जसमध्ये अन्तिम सूचीको नौ वटा पुस्तकहरूमा एकलव्यको देब्रे हात(गिरि श्रीस मगर), करिया(कृष्ण अविरल), कल्प ग्रन्थ(कुमार नगरकोटी), नृत्याक्षर विज्ञान(भैरवबहादुर थापा), फिलिङ्गो(प्रभा बराल), फुलाङ्गे(लेखनाथ क्षेत्री), मोक्षभूमि(केशव दाहाल), रमिते(जेसन कुँवर) र इङ्नामको पुस्तक परेको थियो ।

सरकारी सेवाको क्रममा पूर्व प्रमुख जिल्ला अधिकारी इङ्नामले पछिल्लो समय पूर्वको लिम्बुवानको इतिहास, याक्थुङ लिम्बु समुदायको संस्कृति र शासनकालबारे गम्भीर अध्ययन गरिरहेका छन् । तेह्रथुममा जन्मेका लेखक इङ्नाम अहिले काठमाडौँको अनामनगरमा बस्दै आएका छन् । २०७१ सालमा सरकारी जागिरबाट निवृत्त भएपछि भने ६५ वर्षीय इङ्नाम लेखनमा सक्रिय छन् ।

गुठीको स्थापना वि.सं. २०१२ मा भएको हो । पहिलो पटक २०१३ मा संस्कृतिविद् सत्यमोहन जोशी, चितरञ्जन नेपाली र बलराम जोशीलाई मदन पुरस्कार प्रदान गरेको थियो । त्यस्तै, २०४५ मा पहिलो पटक रानी जगदम्बाको निधनपछि स्थापना गरिएको जगदम्बा श्री गायक नारायण गोपाललाई प्रदान गरिएको थियो ।

नेपाल तथा नेपाल बाहिरबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाङ्मय तथा संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति वा संस्थालाई जगदम्बा श्री प्रदान गर्ने गरिएको गुठीले जनाएको छ ।

Press-Bigyapti