विराटनगर : हतियारसहित आएको समूहले मोरङको कर्सियास्थित सिटिजन्स बैङ्कको शाखा लुटपाटको योजना नेपाली नागरिकले बनाएको र लुटपाटमा ७ भारतीय नागरिक प्रयोग भएको अनुसन्धानबाट खुलेको छ।

बैङ्कको सो शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ भेटिएको छैन। सो रकम लुटेरा समूहले नै लुटेर लगेको निष्कर्षमा प्रहरी प्रशासन पुगेको छ ।

सोमबार दिउँसो ८ जनाको समूहले बैङ्क लुटपाट गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार सोमबार राति करिब १० बजे बैङ्कले २१ लाखभन्दा बढी रकम लुटपाट भएको जानकारी गराएको हो । उनले लुटपाटमा संलग्न मुख्य योजनाकार सहित तीन जनालाई पक्राउ गरेको बताए ।

प्रहरी उपरीक्षक जिसीका अनुसार मुख्य योजनाकार विराटनगरका पुरुष हुन् । लुटपाटमा संलग्न अन्य सबै भारतीय नागरिक हुन् । उनीहरूले एक अर्कालाई नचिने पनि मुख्य योजनाकारलाई भने चिनेको बयान दिएका छन् ।

सोमबार साँझसम्म बैङ्कले लुटपाटको असफल प्रयास भएको बताएको थियो । तर बैङ्कमा भएको पैसाको हिसाब गर्दा लुटेरा समूहले पैसा लगेको पुष्टि भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार बैङ्कले २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटिएको जानकारी गराएको छ । लुटपाट भएको रकम भेटिएको छैन ।

प्रहरीका अनुसार चार वटा मोटरसाइकलमा ८ जनाको समूह आएको थियो । ती मध्ये एउटा मोटरसाइकल सहित तीन जना पक्राउ परेका छन् । लुटपाटमा प्रयोग भएको पेस्तोल पनि भेटिएको छ ।

बैङ्कभित्र दुई राउन्ड गोली चल्यो
सोमबार दिउँसो ८ जनाको लुटेरा समूह बैङ्क भित्र प्रवेश गर्दा सुरक्षा गार्ड शीतल कुँवरले रोक्ने प्रयास गरे । लुटेरा समूहले पेस्तोल देखाएपछि कुँवरले उनीहरूको हतियार खोस्न खोजे । सो क्रममा लुटेरा समूहले २ राउन्ड गोली चलायो ।

एक राउन्ड गोली सुरक्षा गार्ड ३७ वर्षीय शीतल कुँवरको घाँटीको पछाडि पट्टी भन्दा केही तल लागेको छ । लुटेरा समूहले चलाएको अर्को गोली भने आफ्नै सदस्यलाई लाग्यो ।

प्रहरी उपरीक्षक जिसीले ७–८ जनाको समूहले योजनाबद्ध रूपमा लुटपाट गरेको बताए । लुटपाटको घटनाको मुख्य योजनाकार विराटनगर महानगरपालिका–३ मुनाल पथका ३२ वर्षीय श्याम मुखिया भएको र अन्य भारतीय नागरिकलाई उनले नै बोलाएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा मुखियासहित भारतको अररिया जिल्लाको शिवपुरका सुनिल यादव र विजय बहरदार छन् । पक्राउ परेका बहरदारको तिघ्रामा गोली लागेको छ । घाइतेलाई लिएर भाग्दै गर्दा सीमावर्ती क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् ।

लुटेरा समूहलाई पक्राउ गर्दा प्रहरीले गोली नचलाएको बताउँदै प्रहरी उपरीक्षक जिसीले भने, ‘अनुसन्धानका क्रममा लुटेरा समूहका सदस्यलाई आफ्नै समूहले चलाएको गोली लागेको देखिएको छ ।’ यसअघि लुटेरा समूहलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको भनिएको थियो ।

उनीहरूले लुटपाटमा प्रयोग गरेको पेस्तोल पनि भेटिएको प्रहरीले जनाएको छ । तर सो समूहका अन्य व्यक्ति र लुटिएको रकम भने भेटिएको छैन । फरार भएका व्यक्ति भारतीय नागरिक भएकाले भारत नै भागेको हुनसक्ने प्रहरीले जनाएको छ ।

सुरक्षा गार्डको उपचारमा सिडिओको चासो
घटनापछि प्रहरीले सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको र भारतीय पक्षसँग समन्वय गरेर फरार व्यक्तिहरूको खोजी गरिरहेको बताए ।

लुटेर समूहको गोली प्रहारबाट घाइते भएका सुरक्षा गार्ड कुँवरको उपचारमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले चासो देखाएका छन् । लुटपाट गर्ने समूहलाई रोक्ने क्रममा गोली लागेर घाइते भएका कुँवरको स्वास्थ्य अवस्थाबारे दाहाल अस्पतालमा पुगेर बुझेका थिए ।

सो क्रममा उनले उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । उनले कुँवरकी श्रीमती नानुमाया र उनका आफन्तलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।