झापा : गाउँमा बसेका कुन बाबुआमालाई वर्ष दिनमा आउने चाडमा आफ्नो सन्तान घर फर्किओस् भन्ने चाहना नहुँदो हो र ? तर सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायतका अत्यावश्यक सेवामा कार्यरतहरूका लागि भने यो अवसर विरलै जुर्छ ।

दसैँमा पनि आफ्नो घर पुग्न र आमाबुबाको हातबाट टीका थाप्न नपाउँदा धेरै प्रहरीहरू भक्कानिँदा हुन् । तर पनि दसैँ र तिहार जस्ता चाडपर्वहरूमा बिदा नपाए पनि यी प्रहरी दाजुभाइ दिदीबहिनीहरू देश र जनताको सुरक्षा र सेवामा खटिनु नै आफ्नो खुसी मान्छन् अनि चित्त बुझाउँछन् । लाहुरेहरूलाई यो चाडबाड निक्कै खल्लो नै लाग्छ । यद्यपि आफ्नो कर्तव्यबाट उनीहरू कहिल्यै भाग्दैनन् ।

यस वर्ष गत वर्षको जस्तो कोरोना त्रासका कारण दशैं खासै खल्लो नबन्ला पनि । किनभने सरकारले नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउने क्रम अहिले पनि जारी नै राखेको छ । यद्यपि जसोतसो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेरै भए पनि अत्यन्तै सावधानीका साथ धेरैले दशै मनाइरहेका छन् । तर कामकै चटारोले बिदा नपाएर कार्यक्षेत्रमै मन अमिलो पार्दै बसेकाहरूको मन भने यति बेला खिन्न हुने गरेको छ ।

विशेष गरेर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतका चौबिसै घण्टा आफ्नो कर्तव्य पालनामा रहेकाहरू भने दसैँमा पनि घर गएर परिवार तथा आफन्तहरूसँग खुसी साटासाट गर्न नपाउँदा खिन्न देखिन्छन् । विशेष गरी सुरक्षाकर्मीहरूलाई यो चाडबाड अरुकै सेवामा लागेर बित्ने गरेको छ । तर उनीहरू आफ्नै कार्यालयमा भए पनि दशैं मनाउन पाउँदा भित्री वेदना लुकाएर बाहिरी मुहारमा खुसी देखाइरहेका हुन्छन् ।

सुरक्षाकर्मीहरू जस्तै बिदा नपाउनेमा सञ्चारकर्मीहरू पनि पर्दछन् । उनीहरूलाई पनि कहिले चाड पर्वले छुँदैन । परिवारको साथमा बसेर दशै मनाउने रहर हुँदा हुँदै पनि आफूले अङ्गालेको पेसामा रमाउनु पर्ने बाध्यता छ । हर बखत ताजा सूचना र देशमा भइरहेको घटनालाई नागरिकसामु सुसूचित गर्नु नै आफ्नो मुख्य जिम्मेवारी ठानेर कर्तव्य पालना गर्नुपर्ने बताउँछन् झापा दमकस्थित हिमशिखर टेलिभिजनका सञ्चारकर्मी गीता ढुङ्गाना ।

त्यस्तै वारुणयन्त्रकर्मी, स्वास्थ्यकर्मीहरुले पनि दशैमा बिदा नपाउँदाको पीडा उस्तै छ । स्वास्थ्य क्षेत्र पनि अति नै संवेदनशील क्षेत्र भएकोले स्वास्थ्यकर्मीहरुले बिदा पाउन गाह्रो हुन्छ । चाडपर्वमा परिवारसँग बसेर रमाइलो गर्ने रहर हुँदाहुँदै पनि आफ्नो पेसामा मर्यादित हुनु आफ्नो कर्तव्य ठान्छन् स्वास्थ्यकर्मीहरू ।

चाडपर्वमा परिवारको साथमा दशै मनाउन नपाउँदा जो कोहीलाई पनि नरमाइलो त लाग्छ नै तर पनि आफ्नो काम, कर्तव्य र परिबेसले गर्दा परिवारको साथमा दशै मनाउन नपाएकाहरूको पीडा कमको हुन्न ।