झापा : नेशनल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को मङ्सिर २२ र २३ गते काठमाडौँमा हुन लागेको निर्वाचनका लागि अध्यक्ष पदमा ध्रुव थापाको प्यानलले उम्मेदवारी घोषणा गरेको छ। बिर्तामोडमा शनिवार उक्त प्यानलले निर्वाचन सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेको हो।

प्यानलको अध्यक्ष पदमा थापा र सदस्यमा आकाश गोल्छा, दीपेन्द्र कुँवर, कपिल शिवाकोटी, निराकर श्रेष्ठ, नारायणप्रसाद पौडेल, प्रतिमान श्रेष्ठ, प्रकाश सिग्देल, रिद्धी कार्की, सुभाष थपलिया, सञ्जय खेतान, अमर रञ्जित, नवराज भुसाल, सगुन कङ्साकार र विएन पाठकले उम्मेदवारी घोषणा गरेका छन् ।

१७ सदस्य कार्य समिति रहने उक्त समितिमा २ जना सदस्य पछि थप गरिने जनाइएको छ। यस्तै सो टोलीले आजै दमकमा पनि अन्तरक्रिया तथा छलफल गरेको छ। दमकमा आयोजित एक कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार ध्रुव थापाले आफ्नो उम्मेदवारी प्रदेश स्तरमा निर्माण भएका प्रादेशिक संरचनालाई अधिकार सम्पन्न बनाउने, व्यवसायी मैत्री वातावरण निर्माण गर्न आवश्यक पहल गर्ने, नीतिगत लबिङ गर्न छुट्टै समितिको स्थापना गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरे।

उनले आफू विजयी भएको खण्डमा नाडा अटो सो आन्तरिक बजार प्रवर्द्धन केन्द्रित गर्दै प्रदेशमा पनि थालनी गर्ने र नाडाका सदस्यहरूको क्षमता अभिवृद्धि गर्न विभिन्न किसिमका तालिम, सेमिनार र गोष्ठीहरू सबै प्रदेशमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।