धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा (क) र (ख) को शनिवार सम्पन्न निर्वाचनमा कोइराला-पौडेल पक्षधर मानिएका अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानलै विजयी भएको छ ।

संस्थापन पक्ष देउवाबाट उम्मेदवार बनेका मदन ढकाल र अजय कुमार राई पराजित भएका छन् । कोइराला–पौडेल पक्षका अनिल श्रेष्ठले भारी मतान्तरले ढकाललाई पराजित गरेका छन् । श्रेष्ठले २६८ मत प्राप्त गर्दा ढकालले ९६ मत मात्र प्राप्त गरेका थिए ।

यसै गरी उपसभापतिमा प्रदीप शाक्यले २३७ र झुमा राईले २८१ मत ल्याउँदै निर्वाचित बनेका छन् भने सचिवमा युवराज शङ्करले २८० र राजेन्द्र राईले २४४ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै सहसचिवमा हरिप्रसाद ओझाले २१८ र रमिता श्रेष्ठले २५६ मत प्राप्त गर्दै विजयी बनेका छन् । देउवा प्यानलबाट उम्मेदवारी दिएका उपसभापति कुमार मोक्तानले ९० र मनोजकुमार सुब्बाले ९७ मत मात्रै प्राप्त गरेका छन् ।

सचिवमा राजेन्द्रकुमार राईले ९९ र सुनिलचन्द्र श्रेष्ठले ९१ मत प्राप्त गरे । सहसचिवमा कमल भट्टराईले १०० र विष्णुमाया मोक्तानले ११२ मत प्राप्त गरे । विधानअनुसार कोषाध्यक्ष पदमा भने मनोनीत गर्ने व्यवस्था छ । प्रदेशसभा (क) मा ३७६ प्रतिनिधि रहेकामा ३६७ जनाले मात्रै मतदान गरेका थिए ।

यता प्रदेशसभा (ख) मा पनि भट्टराईको प्यानलै विजयी बनेको छ । धरान-१७ स्थित एन्फा एकेडेमीको हलमा सम्पन्न निर्वाचनमा मुरारी भट्टराईले १३९ मत प्राप्त गरेर विजयी भएका छन् । प्रत्याशी अजय राईले १०८ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपसभापतिमा चन्द्रबहादुर मगर अनिलले १५५ र डिल्लीसेर राईले १३० मत प्राप्त गर्दै निर्वाचित बनेका छन् । यता संस्थापनतर्फका अमृतबहादुर खड्काले ८२ र सन्देश श्रेष्ठले ९२ मत ल्याएका थिए । त्यस्तै सचिव पदमा राजेन्द्र खड्काले १४४ र विजय घिमिरेले १४३ मत प्राप्त गर्दै निर्वाचित बन्दा प्रत्याशी सङ्गीता राईले १२० र सुरजप्रसाद अधिकारीले ६३ मत मात्रै प्राप्त गरेका थिए ।

त्यस्तै सहसचिव पदमा मञ्जु राईले १४४ र रोहित काफ्लेले १५१ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी विक्रम राईले ८५ र सर्वम धामीले ८१ मत मात्रै प्राप्त गर्दै पराजित भए । त्यस्तै सदस्यहरूमा पनि भट्टराई प्यानल विजयी बनेको छ ।