धरान : प्रदेश १ मा बुधवार १५ सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुको साथै १७ जना घाइते भएका छन् ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार बुधवार सबै भन्दा बढी सुनसरी जिल्लामा ७ वटा सवारी दुर्घटना भएका छन् । मोरङमा ४, पाँचथर, सोलुखुम्बु, उदयपुर र झापा जिल्लामा १-१ वटा सवारी दुर्घटना भएका छन् ।

हिजो पूर्वी पहाडी जिल्ला पाँचथरको याङवरक गाउँपालिका १ स्थित भित्री कच्ची सडक खण्डमा चिवा भन्ज्याङबाट च्याङथापु तर्फ जाँदै गरेको प्र १-०१-००१ त ९५६२ नं. को ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खस्दा चालकको मृत्यु भएको छ । याङवारक गाउँपालिका २ बस्ने वर्ष ३३ को नवराज बेघाको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ ।

हिजो बुधवार नै सुनसरीको इनरुवा नगरपालिका ५ देवेन्द्र चोकमा इनरुवा-दुहबी भित्री पक्की सडक खण्डमा पश्चिम बाट पूर्व तर्फ जाँदै गरेको को १ क २०४२ नं को बालुवा लोड भएको टिपरले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृतक साईकलयात्री नाम थर वतन नखुलेको अन्दाजी २७/२८ वर्षको पुरुष व्यक्ति रहेको प्रहरीले जनाएको छ। टिपर चालक इनरुवा नगरपालिका ७ बस्ने वर्ष ३६ को मोहदलाल उराव र टिपर जिल्ला प्रहरी कार्यालय सुनसरी को नियन्त्रणमा रहेको छ ।

हिजो बुधवार भएका प्रदेश १ का विभिन्न सवारी दुर्घटनाबाट १७ जना घाइते भएका छन् । घाइतेहरू मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।