इटहरी : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने नेपाल विद्यार्थी सङ्घका सभापति राजीव ढुङ्गानाले बताएका छन् ।

नेपाली काँग्रेसलाई युवामैत्री बनाउने मुद्दा सहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनले बताए ।नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ को नवनिर्वाचित पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेका हुन् । काँग्रेस कतिपय अवस्थामा अलमलमा परेको स्मरण गराउँदै उनले युवा विचार र जोसका साथ पार्टी सञ्चालन गर्न लागी परेको उनको भनाई छ ।

नवनिर्वाचित पदाधिकारी र महाधिवेशन प्रतिनिधिलाई शुभकामना दिँदै उनले काँग्रेसलाई भागबन्डा रहित बनाउन आफू लागी परेको बताए । विगतमा काँग्रेसले राष्ट्रियताको विषयमा प्रस्ट धारणा नबनाउँदा निर्वाचनमा त्यसको असर परेको उनको बुझाई छ । देश, काँग्रेस र लोकतन्त्रको रक्षाको लागी युवाको उपस्थिति सशक्त हुनुपर्ने भन्दै ढुङ्गानाले आफू युवाको नेतृत्व गर्दै केन्द्रीय सदस्य बन्न लागेको धारणा राखे ।

ढुङ्गाना सुनसरीको इटहरीबाट राजनीति गर्ने नेता हुन् । सभापति शेरबहादुर देउवा निकट उनी नेविसंघका पूर्व कोषाध्यक्ष र हालका सभापति हुन् । विद्यालय देखी नै नेविसंघको राजनीति गरेका उनले मातृ पार्टीमा भने महासमिति सदस्य सम्मको जिम्मेवारीमा पुगेका छन् । शालीन र भद्र स्वभावका ढुङ्गाना सुनसरीका लोकप्रिय नेताको रूपमा परिचित छन् ।