धरान : धरान उपमहानगरपालिकामा पुस २८ र २९ गते सञ्चालन भएको कोरोना विरुद्धको अमेरिकन खोप जोनसन एन्ड जोनसन १२ हजार १ सय ३५ जनाले लगाएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार पहिलेको तुलनामा यस पटकको खोप अभियानमा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । धरानको २० वटै वडामा सञ्चालन भएको खोप अभियानमा पहिलो दिन पुस २८ गते ४ हजार ३ सय ९० जना र दोस्रो दिन पुस २९ गते ७ हजार ७ सय ४५ जना गरी दुई दिनमा १२ हजार १ सय ३५ जनाले जोनसन एन्ड जोनसन खोप लगाएका हुन् ।

यो सँगै धरानमा धरानको कुल जनसङ्ख्याको आधारमा हेर्ने हो भने अहिले सम्म १ लाख २ हजार ५ सय १५ जनाले खोप लगाएका मध्ये ७६ हजार ५ सय ७४ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएको प्रमुख मेहेताले जानकारी दिए ।

धरानमा आज पनि जोनसन एन्ड जोनसन खोप लगाइँदै
धरानमा आज धरानको छाताचौकमा रहेको धरान स्वास्थ्य चौकी र धरान-६ पानवारीमा रहेको नेपाल रेडक्रस सोसाइटीको भवनबाट जोनसन एन्ड जोनसन खोप लगाईदैछ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार धरान-६ मा आज एक दिन र छाताचौकबाट भने एक साता सम्म खोप लगाउने कार्यक्रम सञ्चालन हुनेछ । १८ वर्ष देखि माथकाले आफ्नो उमेर खुल्ने परिचयपत्रको आधारमा खोप लगाउन पाउने बताइएको छ ।